Comments Add Comment

वीरेन्द्रनगर तनावग्रस्त, बुधबार बिहानसम्मका लागि कर्फ्यु जारी

Photo Credit : युवकलाई ठक्कर दिने टिपर ।

१४ माघ, काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर मंगलबार दिनभर तनावग्रस्त बनेको छ ।  बिहान वीरेन्द्रनगर नगरपालिका-३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो ।

भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे१ख २२४२ नम्बरको टिपरले किचेको थियो । त्यसलगत्तै आफन्तले कर्णाली राजमार्ग बन्द गराएर आन्दोलन सुरु गरेका थिए ।

उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै सुरु भएको आन्दोलन टिपर चालकलाई नियन्त्रणमा लिँदासमेत रोकिएको छैन ।

प्रशासन र पीडित पक्षबीच सहमति भएर शव उठाउने तयारी भए पनि आन्दोलन नरोकिँदा समस्या उत्तपन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए ।

आन्दोलनकारीले कर्णाली राजमार्ग बन्द गराउनुका साथै त्यस आसपास क्षेत्रमा बजारसमेत बन्द गराएका छन् । साथै आगजनी र तोडफोडमा उत्रिएका छन् ।

आन्दोलन उग्र बनेपछि नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाइ फायर गरेको छ । केही आन्दोलनकारी घाइते भएका छन् । तर आन्दोलन नियन्त्रण भएन ।

आन्दोलनमा घुसपैठ भएकोले उग्र बनेको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

स्थिति नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारी प्रहरीमाथि नै जाइलाग्न थालेपछि साढे ६ बजेदेखि लागू हुने गरी विहान ६ बजेसम्मका लागि जिल्ला प्रशासनले कर्फ्यु जारी गरेको छ ।

पूर्वतर्फको इत्राम, उत्तरतर्फको कपासे व्यारेक र पश्चिमको बाङ्गेसिमलसम्म कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ ।

आन्दोलनबाट थप क्षति हुन नदिन कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment