काठमाडौं । कोरोना भाइरसबाट हुन सक्ने संक्रमणलाई ध्यानमा राखेर पाकिस्तानले चीनबाट हुने हवाइ उडान बन्द गरेको छ । भारतमा कोरोना भाइरस संक्रमित भेटिएको भोलिपल्ट पाकिस्तानले यस्तो निर्णय गरेको हो ।
पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले आफ्नो निर्णयमा भनेको छ, ‘संक्रमणका कारण पाकिस्तान र चीनबीच सबै उडानहरू तत्कालका लागि बन्द गरिएको छ । फेब्रुअरी २ गतेसम्म चीन र पाकिस्तान बीच कुनै उडान हुने छैन।’
पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्यूनका अनुसार पाकिस्तानका करिब ५ सय जना विद्यार्थी चीनमा अध्ययन गरिरहेका छन्। चीनमा बसोबास गर्ने पाकिस्तानीहरूको संख्या २८-३० हजार रहेको र जसमध्ये अधिकांश विद्यार्थी छन् ।

पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका सचिव अब्दुल सत्तार खोखरले समाचार एजेन्सी रोयटर्सलाई यस कुराको पुष्टि गरेका छन् । खोखरले भनेका छन्, ‘पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलाइन्सले चीनबाट दुई उडानहरू सञ्चालन गर्दछ र दुबैलाई अहिले निलम्बित गरिएको छ।’
दुई सय भन्दा बढीको मृत्यु
कोरोना भाइरसबाट चीनमा अहिलेसम्म २१३ जनाको मृत्यु भइसकेको पिपुल्स डेली चाइनाले जनाएको छ । चीनमा मात्रै नौ हजार ३९२ जनामा यो लक्षण देखिएको छ ।
१७१ जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

