Comments Add Comment

मिथिलामा सुरु भयो होली, हेलिकप्टरबाट पुष्पवृष्टि

१८ फागुन, जनकपुरधाम । मिथिला क्षेत्रमा आइतबारदेखि औपचारिक रुपमा होली पर्वको प्रारम्भ भएको छ ।

महोत्तरीको भंगहा नगरपालिकास्थित कंचन वनमा सामूहिक होली खेलाइएसँगै मिथिला क्षेत्रमा विधिवत रुपमा होली प्रवेश गरिएको मान्यता रही आएको छ ।

आइतबार मिथिला मध्यमा परिक्रमाका सहभागीले एकले अर्कालाई रंग र अबीर दलेर कंचन वनमा होली मनाए । परिक्रमामा सहभागी भएका हजारौंले एकले अर्कालाई रंग र अबीर दलिरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले पनि एक अर्कालाई रंग, अबीर दलेर सहभागीहरुसँग रमाएका छन् ।

जनकपुरधामस्थित हनुमान नगरबाट डोलासहित शुरु गरिएको मिथिला माध्यमिकी परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड हुँदै आइतबार कञ्चन वन पुगेको हो ।

त्रेता युगमा यही ठाउँमा भगवान राम र सीताले रंग दलेर होली खेलेको मानिन्छ । होलीमा अधिकांश मठ–मन्दिरका महन्थ, पूजारी, सामाजिक, साँस्कृतिक, राजनीतिक क्षेत्रका व्यक्तिका साथै गरीव र धनी सबै सहभागी हुन्छन् ।

कंचन वनको होलीको प्राचीनतालाई देखेर विगत केही वर्षदेखि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यही ठाउँमा होली महोत्सव मनाउँदै आएको छ ।
होली मनाइरहँदा हेलिकप्टरबाट पुष्प वृष्टिसमेत गरिएको थियो ।

देश अनेक भाषा, संस्कृतिको संगम हो : मन्त्री भट्टराई

होली महोत्सवलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन, नागरिक तथा उड्ड्यन मन्त्री भट्टराईले नेपाल अनेक भाषा र संस्कृतिको संगम भएको बताए । उनले भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

मैथिली पनि राष्ट्रिय भाषा भएको उल्लेख गर्दै मन्त्री भट्टराईले आफू मैथिली राम्रोसँग बुझे पनि दोहोरो कुराकानी गर्न नसकेको बताए ।

प्रदेश २ लाई धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्र बनाउन प्रदेशले बजेट लगाउनुपर्ने भन्दै भट्टराईले भने, ‘केन्द्रले पनि प्रदेशको समृद्धिका लागि बजेट हाल्छ । स्थानीय तह, प्रदेश र संघ तीनै तह मिलेर विकास गर्नु जरुरी छ ।’

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री यादवले मिथिला माध्यमिकी परिक्रमामा मात्रै हजारौं पर्यटक आएको भन्दै यसलाई व्यवस्थित गर्न संघीय सरकारले समेत ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment