Comments Add Comment

आईसीयूबाटै छोरीज्वाइँलाई टीका

१७ फागुन, चितवन । भरतपुरस्थित सेन्ट्रल अस्पतालको सघन उपचार कक्ष (आईसीयूमा) फागुन ११ गते मार्मिक दृश्य देखियो ।

नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ का क्यान्सरपीडित पर्शुराम भट्टराईले आफ्नी कान्छी छोरी शान्ता भट्टराईलाई आईसीयूबाटै विवाहको टीका लगाइदिए । छोरी शान्ता र ज्वाइँ सुवास न्यौपानेलाई उनले आईसीयूबाटै आर्शिवाद दिए । त्यसको भोलिपल्ट पर्शुरामको निधन भयो ।

नारायणगढको हरिहर मन्दिरमा विवाह सकेपछि शान्ता र सुवास क्यान्सर रोगको उपचार गराइरहेका बुवाको आर्शिवाद लिन अस्पतालको आइसीयू पुगेका थिए ।

छोरीज्वाइँलाई आईसीयूभित्र देख्नेवित्तिकै सकीनसकी परशुरामले दुईहात जोडेर नमस्कार गरे । केही मुस्कुराउने प्रयास गरे ।

जिब्रोमा क्यान्सर भएकाले उनी बोल्न सक्ने अवस्थामा थिएनन् । दुनोमा ल्याइएको टीका पालैपालो लगाएर छोरीज्वाइँलाई आर्शिवाद दिए ।

बुबाको हातबाट टीका लगाएर आर्शिवाद लिएपछि बुवालाई सञ्चो हुन्छ भन्दै ढाढस दिए, छोरीज्वाइँले । ‘बुवा नआत्तिनुस्, हजुरलाई ठीक हुन्छ, पर्सि फर्किएर छिट्टै भेट्न आउँछौं’ भन्दै छोरीज्वाइँले गरेको वाचा पूरा हुन पाएन । छोरीज्वाईलाई विदाई गरेको झण्डै १७ घण्टापछि परशुरामले प्राण त्यागे ।

डिउटीमै रहेकी नर्स अनिशा धरेलले खाना खुवाउँदा-खुवाउँदै उनको निधन भएको बताइन् ।

डिउटीमै रहेका चिकित्सक डा.सुरेन्द्र सिग्देलकाअनुसार बिहेकै दिन छोरीज्वाइँ अस्पतालमा आउने पूर्वजानकारी थिएन । सामान्यतः अस्पतालको आईसीयुभित्र त्यसरी जान दिन मिल्दैनथ्यो । ‘तर, उहाँको अवस्था निकै जटिल थियो, उहाँहरुले अनुरोध गरेपछि नाई भन्न सक्ने अवस्था पनि रहेन,’ डा. सिग्देलले भने, मानवीय संवेदनाको कुरा पनि भयो ।’

विगत दुई बर्षदेखि जिव्रोको क्यान्सरबाट पीडित ६० वर्षीय पर्शुरामका एक छोरा र तीन छोरी छन् । तीमध्ये कान्छी छोरी हुन् शान्ता । कान्छी छोरीलाई ज्वाइँको हातमा सुम्पिएर मर्ने धोको थियो उनको ।

शान्ता र सुवासको विवाह फागुन १५ गते गर्ने तय भएको थियो । तर बुवाको अवस्था जटिल बनेका कारण दुबैतर्फका परिवारको सहमतिमा ११ गते नै बिहे गर्ने निधो भएको थियो ।

छोरीज्वाइँलाई टीका लगाएर आर्शिवाद दिएको भोलिपल्टै भट्टराईलाई छातीको दायाँ भागबाट निमोनिया फैलिएको डा. सिग्देलले बताए । ‘निमोनिया यति छिटो फैलियो कि बचाउन सकिएन, १२ गते राति झण्डै १२ बजे उहाँको निधन भयो,’ डा. सिग्देलले भने ।

जिब्रोको क्यान्सर भएका भट्टराईलाई निकै गाह्रो भएपछि फागुन ५ गते अस्पतालमा ल्याइएको थियो । ‘उहाँ आउँदा अचेतजस्तै हुनुहुन्थ्यो, सुरूमा पिसाब पनि भएको थिएन, केमोथेरापी गराइरहनुभएको रहेछ’ डा. सिग्देलले भने, ‘अस्पतालमा आएपछि केही सुधार भयो, होस् पनि राम्रो खुल्यो ।’

पर्शुरामलाई बचाउन परिवारले भारत पनि लैजान चाहेका थिए । तर, क्यान्सर चौथो स्टेजमा भएको र लैजाँदा झनै जोखिम हुने भएकाले नलगेको परिवारका सदस्यको भनाइ छ ।

सेन्ट्रल अस्पतालका अंकोलोजी विभाग प्रमुख डा. गुरुचरण शाहका अनुसार परशुरामले यसअघि नै छैठौं चरणको केमो लिइसकेका थिए । भक्तपुरको क्यान्सर अस्पतालमा छैठौं चरणको केमो लगाइसकेपछि सातौं केमो लगाउन भट्टराईलाई भरतपुर रिफर गरिएको थियो ।

आफन्त मदन भट्टराईका अनुसार पर्शुराम सधैं एउटै कुरा भन्ने गर्दथे, ‘कान्छी छोरीको बिहे देखेर मर्न पाए हुन्थ्यो ।’ बुवाको इच्छा पूरा गर्ने गरी बिहे पनि नारायणगढमा गरिएको मदनले बताए । ‘हामीले बुवालाई सोध्यौं, सबै तयारी गर्यौं,’ मदनले भने, ‘जसरी हुन्छ बुवाको हातबाट टीका लगाएर आर्शिवाद लिने धोको थियो, त्यो पूरा भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment