+
+
Shares

खरिपाटी क्वारेण्टाइनमा रहेकाहरु सम्भवत: सोमबार घर फर्किन पाउने

एकजनाको मात्रै रिपोर्ट नेगेटिभ आए अर्को १४ दिन क्वारेण्टाइनमा बस्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते ११:२८

१८ फागुन, काठमाडौं । भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएकाहरुको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आए सोमबार सबै एक १७५ जना घर जान पाउने स्वास्थ्य मन्त्रालयले बताएको छ। शनिबार नमूना संकलन गरिएको रिपोर्ट सोमबार आउँदै छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार १७५ जनामध्ये एकजनाको मात्रै रिपोर्ट पोजेटिभ आएमा कोही पनि घर फर्किन पाउने छैनन्। उनले भने, ‘संक्रमितलाई सीधै अस्पताल लगिनेछ भने अन्यलाई फेरि १४ दिन क्वारेन्टाइनमै राखिन्छ।’

देवकोटाको अनुसार अहिलेसम्म १७५ जनालाई नै रुघाखोकी र ज्वरो नआएकाले अत्तालिनु पर्ने अवस्था छैन । तर, पछिल्ला अनुसन्धानले क्वारेन्टाइनमा बसेका व्यक्तिमा २४ दिनपछि पनि कोभिड–१९ को संक्रमण देखिएको छ। सोही कारण दोस्रो रिपोर्ट नेगेटिभ आए अझै जोखिम रहेकाले सुरक्षित रहनुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन्।

गत फागुन ४ गते चीनको वुहानबाट ल्याइएका उनीहरुको पहिलो नमूना परीक्षण सोही दिन गरिएको थियो। उक्त नमूना परीक्षणको सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो। हिजो शनिबार गरिएको नमूना संकलनबाट सबैको रिपोर्ट ‘नेगेटिभ’ आए यो नै अन्तिम परीक्षण हुनेछ।

उद्धार गरिएका एक सय ७५ बाहेक उद्धारमा जाने टोली सदस्य तथा क्वारेन्टाइनमा रहेका अन्य १८ जनाको पनि नमूना संकलन गरिएको छ । सबै १९३ जनाको (याल र नाकबाट नमूना संकलन गरिएको हो। नमूना संकलनका लागि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारी, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी खरिपाटी पुगेका थिए।

प्रवक्ता देवकोटाले भने, ‘सोमबारसम्म क्वारेण्टाइन बसेकाहरु घर जान पाउने सम्भावना बढेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?