Comments Add Comment

ट्राफिक प्रहरीले पायो सडकमै स्मार्ट लाइसेन्स जाँच्ने हाते मेसिन

१८ फागुन, काठमाडौं । सरकारले स्मार्ट लाइसेन्स ‘रिड’ गर्ने हाते मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । करिब साढे १२ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र वितरण गरेपछि बल्ल ट्राफिकलाई रिडर मेसिन दिइएको हो ।

यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमालले यातायात कार्यालय र ट्राफिक प्रहरीलाई गरेर ४० वटा मेसिन प्रदान गरिएको बताए । उनले अब ट्राफिकले सकडमै बसेर लाइसेन्स मेसिनबाटै जाँच्न सक्ने बताए ।

हालसम्म लाइसेन्स परीक्षण गर्न ट्राफिक प्रहरीसँग जम्मा दुईवटा रिडर मेसिन थिए । त्यो पनि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा मात्रै । दुरुस्त देखिने नक्कली कार्डलाई आँखाले नियालेको भरमा पहिचान गर्न सम्भव हुँदैन । अहिले कतिपय अवस्थामा शंकास्पद लागे पनि फिल्डमा लाइसेन्स जाँच्ने मेसिन उपलब्ध नहुँदा त्यसै छाड्न ट्राफिक प्रहरी बाध्य छ ।

अहिले आँखाले हेर्दा र छाम्दा शंकास्पद ठहराएका लाइसेन्स ट्राफिक प्रहरीले बरामद गरेर बग्गीखानामा पठाउने गरेको छ । काठमाडौं उपत्यकामा मात्रै ट्राफिकका ४४ वटा युनिट छन् । अन्य सबै जिल्लामा कम्तिमा एउटा युनिट छन् ।

नक्कली लाइसेन्सको विगबिगी भएपछि स्मार्ट लाइसेन्स सरकारले प्रयोगमा ल्याएको हो । स्मार्ट लाइसेन्समा सीमकार्डमा जस्तै धातुको चिप्स जडान गरिएको हुन्छ । जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर हुन्छन् । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेमा त्यसैमा कारवाही भएको रकेर्ड राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment