+
+
Shares

विपद्‍मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिन्छ : मन्त्री वादी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री सीता वादीले भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका र विशेष संरक्षण आवश्यक बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने बताइन् ।
  • उनले उद्धार, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवार खोजी र पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिइन् ।
  • ललितपुरको गोदावरी नगरपालिका–थेचोमा विशेष संरक्षण आवश्यक बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको छ ।

२९ भदौ, काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताएकी छन् ।

राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले भोटेकोशी बाढीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएर उपचाररत रहेको बताएकी हुन् ।

परिवारबाट छुट्टिएका तथा संरक्षणको पर्खाइमा रहेका बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ ।

मन्त्री वादीले अभिभावक गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्रालयले उक्त जिम्मेवारी संवेदनशीलता र प्रतिवद्धताका साथ पूरा गर्ने बताइन् ।

उनकाअनुसार ललितपुरको गोदावरी नगरपालिका–थेचोमा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

केन्द्रमार्फत आवास, खानपिन, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी तथा पारिवारिक पुनर्मिलनलगायत सेवा उपलब्ध गराइनेछ ।

साथै बालबालिकाको दीर्घकालीन संरक्षण आवश्यकताको पहिचान गरी उपयुक्त व्यवस्था गरिने उनले बताइन ।

बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकता दिइएको मन्त्री वादीले बताइन् ।

प्रभावित जिल्लाका स्थानीय तह तथा बालबालिका राखिएका स्थानमा उनीहरूको अवस्था, पहिचान, विस्तृत लेखाजोखा र आवश्यक संरक्षण सेवाका लागि सहजीकरण टोली परिचालन गरिएको पनि उनले जानकारी दिइन् ।

विपद्मा आमाबुवा गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि सरकारले दीर्घकालीन स्याहार योजना कार्यक्रम कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै मन्त्री वादीले कुनै पनि बालबालिकाले आफूलाई एक्लो र असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले बालबालिकालाई हिंसा, दुव्र्यवहार, शोषण, बेचबिखन तथा असुरक्षाबाट जोगाउनु सरकार मात्र नभई अभिभावक, विद्यालय, समुदाय, सञ्चारमाध्यम, नागरिक समाज, निजी क्षेत्र तथा बाल अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाको साझा दायित्व भएको बताइन् ।

मन्त्री वादीले भनेकी छन्, ‘यस वर्ष भोटेकोशी बाढीका कारण हामी पीडादायी परिस्थितिमा यो दिवस मनाइरहेका छौँ । बाढी तथा विपद्का कारण ज्यान गुमाउनुभएका बालबालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइते बालबालिकाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु । बालबालिका राष्ट्रका भविष्य हुन् । विपद्मा अभिभावक गुमाएका, परिवारबाट छुट्टिएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको उद्धार, उपचार, मनोसामाजिक सहयोग, परिवार खोजी तथा पुनर्मिलनका लागि सरकार उच्च प्राथमिकताका साथ कार्यरत छ । त्यस्ता बालबालिकाको दीर्घकालीन संरक्षणको जिम्मेवारी सरकारले लिनेछ ।’

‘बालपनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने यस वर्षको राष्ट्रिय बाल दिवसको नारालाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?