+
+
Shares

बेलायतका पूर्वप्रधानमन्त्री गएको केही समयपछि युक्रेनी रेलमा रुसी आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १०:३३

२९ भदौ, काठमाडौं । युक्रेनमा पोल्यान्ड सीमानजिकै याहोदिन क्षेत्रमा एउटा यात्रुवाहक रेललाई रुसी ड्रोनले निशाना बनाएको छ। आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगेको छ। यद्यपि, घटनामा कोही हताहत भएको खबर छैन।

बीबीसीका अनुसार, बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन र युरोपका शीर्ष सुरक्षा अधिकारीहरूको टोली चढेको अर्को रेल आक्रमण हुनुभन्दा केही समयअघि मात्रै यही रेलमार्ग भएर गएको थियो ।

युक्रेनी अधिकारीहरूका अनुसार, यो आक्रमण याहोदिनमा भएको हो, जुन पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर मात्र टाढा अवस्थित छ।

बोरिस जोनसनसँगै युरोपेली देशहरूका कैयौँ राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि यही रेलमार्ग भएर गएका थिए। जसमा बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल पनि सहभागी थिए। सबै अधिकारीहरू किभमा आयोजित एक सम्मेलनमा भाग लिएर फर्किरहेका थिए।

रुसले पनि यस आक्रमणको पुष्टि गरेको छ। रुसी पक्षका अनुसार, पश्चिमी युक्रेनमा रेलवेको पूर्वाधारलाई निशाना बनाएर आक्रमण गरिएको हो।

यद्यपि, युक्रेनको सरकारी रेलवे कम्पनीले ड्रोनको वास्तविक निशाना कूटनीतिज्ञहरू सवार रेल नै हुन सक्ने आशङ्का व्यक्त गरेको छ।

रेलवे कम्पनीका अनुसार, समयतालिकामा गरिएको हेरफेरका कारण कूटनीतिज्ञहरू सवार उक्त रेल निर्धारित समयभन्दा अगावै स्टेसनबाट छुटेको थियो। रुसको तर्फबाट लगातार भइरहेका हवाई आक्रमणको खतरालाई मध्यनजर गर्दै रेलको समय परिवर्तन गरिएको थियो।

कम्पनीले बताएअनुसार, जुन रेलमा ड्रोन आक्रमण भयो, त्यसमा सवार यात्रुहरूलाई रेलबाट बाहिर निकाल्न आक्रमण हुनुभन्दा १५ मिनेटअघि मात्रै आदेश दिइएको थियो। त्यसलगत्तै रुसी जेट-प्रोपेल्ड ड्रोनले रेलको इन्जिनलाई निशाना बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?