Comments Add Comment
बामदेवलाई प्रदीप ज्ञवालीको प्रश्न :

‘नेकपाले फेरि जित्छ भन्ने विश्वास टुटेको हो ?’

‘प्रधानमन्त्री बहुमतमै हुनुहुन्छ, माधव कमरेडको भूमिका अपेक्षित छ’

१८ फागुन, काठमाडौं । बामदेव गौतमका लागि नेकपाले संविधान संशोधन कार्यदल बनाएपछि जेनेभाबाटै नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेतृत्वलाई प्रश्न गरेर कडा ट्वीट गरे । कार्यदल विघटन भए पनि ज्ञवालीको मनमा एउटा प्रश्नले सताइरहेको छ– के नेकपाका केही नेतामा पार्टीको भविष्यप्रति विश्वास टुटेको हो ?

तीन वर्षपछि नेकपा अझ शक्तिका साथ सरकारमा आउँछ र ल्याउनुपर्छ भनेर लाग्नुपर्ने नेताहरु नै संविधान संशोधन गरेर भने पनि, जालझेल गरेर भने पनि दाउपेचमा संलग्न हुन थालेपछि ज्ञवालीले नेताहरुको आत्मविश्वासमा समस्या देखेका हुन् ।

नेकपाभित्र अध्ययनशील, बौद्धिक एवं शालीन व्यक्तित्वको छवि बनाएका ज्ञवालीसँग नेकपाभित्रको पछिल्लो संकट र विवादमा केन्द्रित रहेर अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानी–

तपाईंले जेनेभाबाटै संविधान संशोधनको प्रयासप्रति कटाक्ष गर्नुभयो, पार्टीले गठन नै नभएको कार्यदल गठन गरे पनि नेकपाभित्र बहस त छेडियो नि होइन ? संविधान संशोधनको माग गर्ने समुदायको सरोकारबाट नेकपापछि हट्न पाउँछ त ?

केही संवेदनशील, अलिकति फुट्नेखालका सामानहरुको ढुवानी गरिँदैछ भने, त्यसमा बाहिर लेखिएको हुन्छ– ह्याण्डल वीथ केयर प्लिज । नेपालको राजनीति अहिले पनि एक किसिमको संक्रमणबाटै गुज्रिरहेको छ ।

हामीले प्रगतिशील, लोकतान्त्रिक र अग्रगामी चरित्रको संविधान बनायौं । यसक्रममा हामीले जस्ता–जस्ता प्रवृत्तिसँग संघर्ष गर्नुपर्‍यो र यो संविधानले जस्ता प्रवृत्तिलाई पराजित गर्‍यो, ती सबै मौकाको दाउमा छन् ।

कथंकदाचित संविधानको एउटा ढोका खोल्न पाइयो वा यो पाण्डोराका बाकस ओपन गर्न पाइयो भने फेरि आफ्ना स्वार्थ र दावी स्थापित गर्न सकिन्छ भन्ने प्रयास निरन्तर जारी छ । त्यसो भएर संविधान संशोधनका बारेमा बहस गरिरहँदा हामीले यो पक्षलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ ।

नेकपालाई जनताले झण्डै दुई तिहाई बहुमत दिएका छन् । तर, यो बहुमत धर्मराउनका लागि वा कार्यान्वयनमा गइनसकेको संविधानलाई चलाउनका लागि होइन । हामीलाई जनताले दिएको बहुमत उत्ताउलो बन्न होइन, जिम्मेवार बन्नका लागि हो ।

संख्यामा दुईतिहाई पुग्यो भने पनि अहिले हामीलाई संविधान संशोधनको म्याण्डेट जनताले दिएका छैनन् । हामीलाई बहुमत दिनुस, हामी स्थिरता र समृद्धि दिन्छौं भनेका हौं । स्थिरता दुईटा कुराले हुन्छ, एउटा नीतिगत स्थिरता र अर्को सरकारको स्थिरता ।

नीतिगत स्थिरताको सबैभन्दा ठूलो ग्यारेन्टर संविधान हो । त्यसो भएको हुनाले अहिले संविधान संशोधनको बहस मैलेचाहिँ असान्दर्भिक ठान्छु ।

त्यसमाथि पनि मधेसकेन्द्रित दलको एजेण्डा नै जुन संविधान संशोधन बनेको छ, त्यसमा हामीले औचित्य पुष्टि गर्नुस् भनेका छौं । एक किसिमले अशन्तुष्ट पक्ष हो त्यो । तपाईं त्यो विषयमा प्रवेश नै नगर्ने, अनि अहिले यो विषय यसरी उठाउँदा हामीमाथि प्रश्न खडा गर्छ ।

संविधान संशोधनबाट शासकीय स्वरुप परिवर्तन गर्न चाहेको हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीतर्फ जानुपर्नेमा उल्टो बाटोको बहस किन आयो त ?

हिजो साविक एमाले र माओवादी दुवै घटकले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा बहस गरे कै हुन् । त्यसो गरिरहँदा हाम्रा केही तर्क थिए । संसदीय व्यवस्थाले स्थिरता दिन सक्दैन, जुन निर्वाचन प्रणाली अवलम्बन गर्‍यौं, यसबाट कुनै पार्टीको बहुमत आउँदैन र सधैंभरि प्रधानमन्त्रीले अनावश्यक सम्झौता गर्नुपर्छ भन्ने डर थियो ।

हामी बलियो कार्यकारीका पक्षमा उभिन त्योबेला प्रत्यक्ष निर्वाचित कार्यकारी भनेका हौं । तर, व्यवहारमा त्यो कुरा खण्डन भयो । अपील सही हुन्छ, पार्टी सही छ र उसको पृष्ठभूमि सही छ भने संसदीय व्यवस्थाभित्रबाट पनि प्रवल बहुमत ल्याउन सकिन्छ भन्ने कुरा नेपाल र छिमेकमा पनि देखिएको छ । अहिले संसदीय व्यवस्थाबाटै भारत र बंगलादेशमा पनि प्रचण्ड बहुमतका सरकारहरु छन् ।

मिर्जा गालिबको एउटा सायर छ, जसमा उनी भन्छन्–

जिन्दगीभर गालिब

यही भूल गरिरह्यौ

धूलो अनुहारमा थियो

ऐना सफा गरिरह्यौ !

समस्या मुलुकको शासन प्रणालीमा होइन, समस्या हामीभित्र छ ।

फागुन ३ गते सरकारले २ वर्ष पुरा गरिसकेपछि नेपालका नाम चलेका पत्रिकाले बडो उत्साहका साथ समाचार लेखे– अब प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने बाटो खुल्यो । यसबाट हाम्रो मानसिकता कस्तो छ भन्ने देखाउँछ ।

तपाईंको मतलब, अस्थिरता निम्त्याउन भित्रैबाट खोजियो भन्ने हो ?

अहिले प्रधानमन्त्रीले मलाई काम गर्ने एउटा टिम चाहियो, त्यो टिमका लागि म अर्थमन्त्रीलाई निरन्तरता दिन चाहान्छु भन्नुहुन्छ । रडाको त्यहीँनेर देखिन्छ । एउटा प्रधानमन्त्रीले म आफ्नो टिम बनाउछु, मेरा नीति र योजनाहरु कार्यान्वयन गर्नका निम्ति मलाई अलि सजिलो बनाइदिनुस् भन्दा त्यो ढंगले हाम्रा संयन्त्रहरु सहयोगी भइरहेको अवस्था छैन ।

अर्को कुरा, आज हामी बहस गरिरहेका छौं, प्रधानमन्त्रीले परामर्श गर्नुभएन आदि इत्यादि आलोचना गरिरहेका छौं । एकातिर यी बहस र अर्कोतिर प्रत्यक्ष निर्वाचित कार्यकारी । जहाँ निश्चित विषयमा भिटो अधिकार हुन्छ । यी दुई बहस कहाँनेर म्याच खान्छन् ? त्यसैले गर्दा अहिले हामीले शासकीय स्वरुप परिवर्तनको पनि बहस गर्ने बेला भएको छैन ।

संविधान कार्यान्वयनको दुई वर्ष नपुग्दै शासकीयस्वरुप परिवर्तनको बहस चलाउनुहुन्छ भने तपाईंले स्थिरता दिनुहुन्छ कुरा चाहिँ हास्यास्पद हुन्छ । जनताको म्याण्डेट विपरीत हामी जान मिल्दैन ।

सचिवालय बैठकले कार्यदल विघटन गरे पनि संविधान संशोधनका बारेमा छलफल जारी राख्ने निर्णय गर्नुलाई कसरी बुझ्ने ?

सैद्धान्तिकरुपले संविधान भनेको संशोधनीय दस्तावेज हो । सम्पादनको हिसाबले यसमा यति धेरै सम्पादन गर्नुपर्ने ठाउँ छ, यसका भद्दा लेखनशैली सच्याउने हो भने एक तिहाई आकार घट्न सक्छ । त्यसका निम्ति त ढोका सधैंभरि खुला हुन्छ । तर, आज योबेला होइन । यो संविधानको स्वतन्त्र अस्थित्व नै मान्दिनँ भन्नेलाई समेत सरकारले यही संविधानभित्र ल्याउन सफल भएको छ ।

हिजो संविधान बनाउने प्रक्रियाबाट बाहिर रहेका, जलाएका साथीहरु यही सरकारमा सहभागी भएर प्रदेशमा सरकार चलाइरहेका छन् । संविधानको दायरा यति ठूलो भएको छ । कहिँ कतै साँच्चै नै समस्या छ भने त्यसमा छलफल गर्न सकिन्छ । तर, आज तपाईं जुन एजेण्डामा संविधान संशोधन गर्न खोजिरहनुभएको छ, प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भन्ने पार्टीभित्र संविधान संशोधन गरेर राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउनुपर्छ भन्ने बहस चाहिँ कहिँ कतै मेल खाँदैन । मैले व्यक्तिलाई हेरेर भनिरहेको छैन ।

बामदेव कमरेड राष्ट्रियसभामा जाने कुरा हिजो जतिबेला राष्ट्रियसभा निर्वाचन गत माघ ९ गते हुँदै थियो, त्यसबेला प्रधानमन्त्रीले उहाँलाई प्रस्ताव नै गर्नुभएको थियो । त्यतिबेला उहाँको तर्क रह्यो, प्रधानमन्त्री हुने अवस्थामा मात्र जान्छु ।

व्यक्तिका इच्छालाई हेरेर संविधान संशोधन गर्ने कुरा झनै अनुपयुक्त छ । नेकपा यो संविधानको निर्माता हो, संवाहक हो र कार्यान्वयनकर्ता भन्ने जुन ठूलो नैतिक बल छ हामीसँग, त्यसलाई यसले क्षति पुर्‍याउँछ ।

संविधान संशोधन त राष्ट्रपतिलाई अधिकार थप्न पनि गर्न लागिएको चर्चा चल्यो नि ?

यो बेकारको बहस हो जस्तो लाग्छ । मलाई लाग्छ, विषयान्तर गर्नका लागि, ध्यान अन्यत्र मोड्नका लागि गरिएको हो । हामीले संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको प्रणाली लामो बहसपछि अवलम्वन गरेका हौं । यो कुनै अचानक आएको कुरा थिएन, सुविचारित र योजनावद्ध बहसबाट भएको हो ।

अहिले राष्ट्रपतिलाई कार्यकारी अधिकार थप्ने भन्ने कहीँ कतै सन्दर्भ नै छैन । मलाई लाग्छ, बहसलाई अन्यत्र मोड्नका लागि यी विषयहरु अगाडि आएका हुन् ।

बामदेव निर्वाचित भएर आउने अवसर छाडेर राष्ट्रपतिमार्फत मनोनित हुन तयार हुनु भनेको एक थान सांसद बन्नका लागिमात्र हो कि प्रधानमन्त्रीलाई अप्ठेरो पार्नका लागि गरिएको होला त ?

यस सन्दर्भमा मेरा दुईवटा भनाइ छन् । नेपालको कम्युनिस्ट आन्दोलन लामो समयसम्म नेतृत्वमा रहिरनुपर्छ र यही कम्युनिस्ट आन्दोलनका अगुवाइमा मात्रै समृद्धिका सपनाहरु साकार पार्न सकिन्छ भन्ने अविचलित विश्वासका आधारमा हामी यहाँसम्म आइपुगेका छौं । कम्युनिस्ट आन्दोलनप्रति हामीलाई गर्व छ । बितेका ७० वर्षभित्र हामीले नेपालको लोकतान्त्रिक आन्दोलनको च्याम्पियनसिप लियौं । २००७ सालमा नेकपाको भूमिका सहयोगी मात्र थियो । त्यसकारण त्यसबेलाका कुनै पनि संरचनाहरुमा चाहे अन्तरिम संविधान होस् वा त्यतिबेलाका सरकार वा सल्लाहकारसभा, कुनै पनि ठाउँमा कम्युनिस्ट पार्टीलाई उपस्थिति नै दिइएन । बरु हामीमाथि प्रतिबन्ध लाग्यो । त्यस्तो अवस्थाबाट २०१५ सालमा ४ सिट जितेको पार्टीलाई २०४६ मा पुग्दा जनआन्दोलनको संयुक्त जनआन्दोलनको सहनेताको रुपमा स्थपित भयो । २०६२/६३ को जनआन्दोलनको हामीले नेतृत्व गर्‍यौं । किनकि, जति पनि एजेण्डा स्थापित भए, ती सबै हाम्रा कारण भएका हुन् ।

अब बाँकी ३० वर्ष, जतिबेला नेकपा स्थापनाको एक सय वर्ष पुग्छ । यो ३० वर्षको अवधिभित्र मुलुकको मुहार बदल्नुपर्ने छ । समृद्धिका सपना साकार पार्नुपर्नेछ । त्यसकारण हामी नेकपाको भविश्य उज्ज्वल देख्छौं । त्यो देखेर नै आज १४/१५ वर्षका बच्चाहरुका आँखामा आउने २०/२५ वर्ष प्रधानमन्त्री त के, मन्त्री र सांसद बन्ने सपना पनि छैन । किन ती युवाहरु कम्युनिस्ट पार्टीमा आकर्षित छन् त भन्दा पार्टीले डेलिभरि दिन्छ र यसमा सम्भावना छ भनेर ।

कहिलेकहिँ हाम्रा कतिपय नेता कमरेडहरुको अभिव्यक्तिहरुबाट असाध्यै पीडाबोध हुन्छ । के हाम्रा कतिपय नेताहरुलाई तीन वर्षपछि पनि हाम्रो कम्युनिस्ट पार्टीले बहुमतसहित चुनाव जित्छ भन्ने विश्वास टुटेको हो ? आज त्यो विश्वास टुटेको हो भने उहाँहरुले कम्युनिस्ट पार्टीको नेतृत्व गर्छु भन्ने नैतिक बल पनि बाँकी रहँदैन ।

के हाम्रा कतिपय नेताहरुलाई तीन वर्षपछि पनि हाम्रो कम्युनिस्ट पार्टीले बहुमतसहित चुनाव जित्छ भन्ने विश्वास टुटेको हो ? आज त्यो विश्वास टुटेको हो भने उहाँहरुले कम्युनिस्ट पार्टीको नेतृत्व गर्छु भन्ने नैतिक बल पनि बाँकी रहँदैन ।

हामी त, अहिले भएकै नेताहरुले केही समय नेतृत्व गर्नुस र यस्तो देश नयाँ पुस्तालाई जिम्मा दिनुस् जहाँ स्थिरता, विकास र लोकतान्त्रिक व्यवस्था बलियो होस् भन्छौं । यस्तो कम्युनिस्ट पार्टी हस्तान्तरण गरिदिनुस्, जुन एकतावद्ध र गुटबन्दीबाट मुक्त छ र समृद्धिको च्याम्पियन बन्ने क्षमता राख्छ । हामी यो सोचेर लागेका छौं ।

कतिपय हाम्रा नेतालाई तीन वर्षपछि हामी निर्वाचित हुन्छौं, पार्टी बहुमतमा आउँछ, फेरि प्रधानमन्त्री बन्न सकिन्छ, त्यसैले अहिले यो सरकारलाई हर मूल्यमा सफल बनाउँ र यसलाई अघि बढाउँ भन्ने विश्वास टुटेको देख्छु म । यही कतिपय बहसमा टुटेका भग्न सपनाहरु चाहिँ प्रकट भएको देखिन्छ ।

बामदेव कमरेड पार्टीको आदरणीय नेता हो, प्रधानमन्त्री बन्ने हक राख्नुहुन्छ । तर, हामी चाहान्छौं बामदेव कमरेड जनताबाट निर्वाचित भएर, सर्वाधिक लोकप्रिय मत ल्याएर निर्वाचन अगाडि नै प्रधानमन्त्री बनाउने निर्णय पार्टीबाट गराएर त्यो एउटा नैतिक बलका साथ आउनुहोस् ।

अहिले चाहिँ चलिरहेका बहसहरु उहाँको अनुकुल छैनन् भन्ने कुरा त देखियो । मलाई थाहा छैन, कार्यदल बनेको तर नबनी त कसरी विघटन हुन्छ र । कार्यदल बनेको रहेछ भने पनि कति अलोकप्रिय रहेछ भन्ने त बुझ्नुपर्‍यो ।

मैले भन्न खोजेको चाहिँ, केही उपाय लागेन, अब एकथान सांसद भने पनि बनिराखौं भनेर मात्र मनोनित हुन तयार हुनुभएको होला त ? किनकि, निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्रीले पार्टी त्याग्नुपर्छ भन्ने तहका टिप्पणी त सचिवालय सदस्यहरुबाटै आए नि ?

अब नेताहरुले प्रधामन्त्रीलाई त्योखालको अभिव्यक्ति दिनुभएको हो भने त्यो रेकर्टेड हो भने दुर्भाग्यपूर्ण हो । त्यो भन्ने नैतिक बल, नैतिक आधारचाहिँ कमसेकम आजको मितिसम्म कुनै नेताहरुसँग छैन ।

निर्णय कसरी भयो म जान्दिनँ । र, मैले बुझ्न नसकेको कुरा चाहिँ माघ ९ गतेको चुनावमा प्रधामन्त्रीले प्रस्ताव गर्दा संविधान संशोधन नभई जान्न भन्ने बामदेव कमरेड अहिले चाहिँ सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने हैसियतमा जाने धारणा उहाँले कसरी बनाउनुभयो ? म जान्दिन ।

उहाँ राष्ट्रियसभामा जान सक्नुहुन्छ । कानुनी हिसाबले उहाँ जान सक्नुहुन्छ । यसमा जोडिएका अन्य पक्ष र जनताले गरेका टीका टिप्पणीले आफ्नो कस्तो बिम्ब निर्माण हुन्छ भन्ने सम्बन्धित पक्षले जान्ने कुरा हो । हरेक वर्ष प्रधानमन्त्री फेर्न लाग्दा कांग्रेस आज जुन सजायँ भोगेर बसेको छ, त्यही बाटोमा नेकपाका नेताहरु जानुहुनेछैन ।

सचिवालय निर्णय नमाने प्रधामन्त्री हटाउने तहसम्मको चेतावनी त आइसक्यो नि ?

पहिलो कुरा त प्रधानमन्त्रीलाई हटाउने भन्नेखालको कुरा त बिल्कुल असम्भव, अकल्पनीय र निरर्थक बहस हो ।

सबै कमिटीहरुमा उहाँले बहुमत गुमाएपछि पार्टी निर्णय कार्यान्वयन गर्नु वा छाड्नुमात्र विकल्प भन्ने होइन र ?

अहिलेसम्म हाम्रा कुनै पनि निर्णयहरुमा मतदान भएको छैन । त्यसो भएको हुनाले प्रधानमन्त्री अल्पमतमा पर्नुभएको भन्ने अवधारणा हो, तथ्यले कहिँ पनि पुष्टि गरेको छैन । हो, कठिनाइहरु छन् । नेताहरुको कहिले काहिँ इगो व्यवस्थापन र आकांक्षाहरु व्यवस्थापन, तथा मर्यादा व्यवस्थापनमा हाम्रो काफी मूल्यवान समय खेर गइरहेको छ ।

प्रधानमन्त्री अल्पमतमा पर्नुभयो भनेर जुन सन्देश दिन खोजिँदैछ, एउटा डिस्कोर्ष निर्माण गरिँदैछ मुलुकमा । एक, प्रधानमन्त्री आफ्नै पार्टीभित्र अल्पमतमा परेका छन्, दोस्रो प्रधानमन्त्रीले भ्रष्टाचारसँग सम्झौता गरेका छन् । यी दुवै कुरा सर्वथा गलत हुन् ।

प्रधानमन्त्री अल्पमतमा पर्नुभयो भनेर जुन सन्देश दिन खोजिँदैछ, एउटा डिस्कोर्ष निर्माण गरिँदैछ मुलुकमा ।

भ्रष्टाचारमाथि सबैभन्दा ठूलो हमला समकालीन नेपालमा कुनैबेला भएको छ भने त्यो आजको सरकारले गरेको छ । म भन्दिनँ कि अहिले रामराज्य नै भएको छ । प्रधानमन्त्रीको वरिपरि, मेरो वरिपरि वा अरु कुनै नेताको वरिपरि मान्छेहरु घुमिरहेका छैनन् म भन्दिनँ । किनभने, भ्रष्टचार एउटा जीवनशैली जस्तो बनेको छ । यसलाई उन्मुलन गर्न समय लाग्छ ।

तर, कति निर्मम हुनुहुन्छ प्रधानमन्त्री भन्ने कुरा त देखियो नि त । उहाँको नजिक र प्रिय भनिएकाहरुलाई समेत विवादमा आइसकेपछि उहाँले स्टेप डाउन गर भन्नुभयो । कहिँ कतै संरक्षण देखिँदैन । उल्टो, न्यारेटिभ चाहिँ भ्रष्टाचार बढेको छ भनेर बनाइँदैछ ।

दोस्रो कुरा, प्रधानमन्त्री कमजोर हुँदैछन् भन्ने न्यारेटिभले कसलाई फाइदा पुग्छ, हामी सबैलाई थाहा छ । त्यो फाइदा पुग्ने तत्वहरुका विषयहरु हुन् यी । सबै निर्णय हाम्रोजस्तो पार्टीमा प्रधानमन्त्रीको इच्छा अनुकुल हुन्छन् भन्ने छैन । तर, प्रधानमन्त्रीलाई राज्य सञ्चालनमा सहज बनाउनुपर्छ । सबै गुण–दोषको भागिदार उहाँलाई नै बनाउनुपर्छ ।

अहिले अर्थमन्त्रीमा युवराज खतिवडाको निरन्तरतालाई रोक्न कै लागि बामदेवलाई तयार पारिएको हो त ?

मुलुकमा केही चिजहरुमा हामी असाध्यै निर्मम बन्यौ, बनिरहेका छौं र अझै बन्दै जान्छौं । तपाईंले सर्ट किन्दा तिरेको भ्याट ब्यापारीलाई फिर्ता गरिदिनुपर्ने । तपाईले बर्षौंसम्म ठेक्का अड्काएर विकासका आयोजना ठप्प पार्दा राज्यले सम्मानित गर्नुपर्ने । सरकारी जग्गा हिनामिना गर्नेहरु छाती फुलाएर हिँड्ने । यी धेरै कुरामा सरकार निर्मम भएको छ ।

यो पनि पढ्नुहोस यत्रो बहुमतको सरकार छ, कसले घेराबन्दी गर्‍यो ?

विभिन्न ट्याक्स हेभनबाट स्रोत नखुलेका पैसाहरु ल्याउने क्रमलाई अर्थमन्त्रीले चाहे गभर्नर हुँदा होस्, वा अहिले रोक्नुभएको छ । हामी कति जोखिममा छौं भने नेपाल संगठित अपराध, मुद्रा निर्मलीकरण जस्ता थुप्रै अन्तर्राष्ट्रिय फ्रेमवर्कको सदस्य हो । तर, पनि हाम्रा कमजोर संयन्त्रको लाभ उठाएर कतिपय चिज गलत ढंगले हुन सक्ने खतरा छँदैछ ।

त्यस्ता कुराहरुमा कडाइका साथ निगरानी गर्दा कतिपय मान्छेहरुलाई अर्थमन्त्री सहज लागेको छैन, त्यो सही हो । उनीहरु सक्दा सिंगो सरकार र नभए सरकारका निश्चित मन्त्री र एजेन्सीहरुमाथि खनिन्छन् । एकखालको छटपटाहट छ र कायम हुन लागेको आर्थिक अनुशासन भत्काउन पाइयो भने हुन्थ्यो भन्ने स्वार्थहरु छन् ।

त्यससँग अहिले चलिरहेको संविधान संशोधनको बहस र राष्ट्रियसभामा मनोनयनको बहस जोडिएका छन् कि छैनन् मलाई थाहा छैन । तर, एउटा तप्का चाहिँ सुरुदेखि नै अर्थमन्त्रीका विरुद्ध लागिरहेको यथार्थ हो ।

अब बामदेव प्रकरणको निकास के देख्नुहुन्छ ?

कहिलेकाहिँ पार्टीभित्र व्यवस्थापनको पाटो पनि आउँछ । सहज व्यवस्थापन नहुने होइन । बामदेव कमरेडको राष्ट्रियसभामा आगमनमात्रै अहिलेको एजेण्डा हो भने त्यो मुद्दा सल्ट्याउन कुनै गाह्रो छैन । तर, योसँग जुन विषयहरु आए, बढी गम्भीर त्यसले बनाएको होजस्तो मलाई लाग्छ । त्यो विषयमा हामी सचेत छौं । उहाँ राष्ट्रियसभामा जाने कुरा कुनै समस्या होइन ।

तर, नेकपाका मुख्य नेताहरुबीच विश्वासको संकटचाहिँ गरिहिँदै गएको देखियो होइन ?

अलिकति त्यस्तो समस्या देखियो । हामी एउटै डुंगामा छौं भन्ने जोखिमलाई पनि उहाँहरुले बुझेको देखिएन कतिपय सन्दर्भमा चलिरहेका बहसहरु हेर्दा । तलका एउटा कार्यकर्ताको जत्तिको परिपक्वता पनि देखिँदैन कहिलेकाहिँ ।

दोस्रो चाहिँ कतिपय नेताहरुमा भविश्यप्रति विश्वास टुटेको म देख्छु । भविश्यप्रति विश्वस्त हुने मान्छेमा यस्ता बहस आउँदैन ।

प्रधानमन्त्रीलाई कता–कता माधव नेपालको साथ खड्केको हो कि ?

अब कस्तो छ भने पार्टी एकताको बेलाको फरक अवस्था थियो । माधव कामरेडचाहिँ संकट व्यवस्थापनमा च्याम्पियन नै प्रशिद्ध मान्छे हो । उहाँले फराकिलो सोचका साथ, परिपक्वताका साथ भूमिका खेल्न सक्नुहुन्छ अहिले । उहाँले त्यो भूमिका खेल्नुहोस् भन्ने सबैको अपेक्षा पनि छ ।

किनभने, नेतृत्वका कतिपय कमरेडहरुमा अस्थिरताको प्रवृत्ति त देखियो । क्षणिकरुपमा केही व्यक्तिका लागि त लाभकारी होला, तर राष्ट्र र कम्युनिस्ट आन्दोलनका निम्ति उचित छैन । यसमा माधव कमरेडको भूमिका अपेक्षित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment