+
+
Shares

रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूसले युक्रेनविरुद्धको युद्धमा आईएनएफ सन्धिले प्रतिबन्धित ९एम७२९ क्रुज मिसाइल प्रयोग गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९एम७२९ मिसाइलको गोप्य विकासको कारण सन् २०१९ मा आईएनएफ सन्धि तोडेका थिए।
  • रूसले गत सातामा आणविक ऊर्जाबाट चल्ने ‘बुरेभेस्निक’ क्रुज मिसाइल र ‘पोसेडन’ टर्पेडो परीक्षण गरेको दाबी गरेको छ।

१४ कात्तिक, काठमाडौं । रूसले युक्रेनविरुद्धको युद्धमा घातक क्रुज मिसाइल प्रयोग गरेको खुलेको छ ।

रूसले पछिल्ला महिनाहरूमा युक्रेनविरुद्धको युद्धमा घातक ९एम७२९ मिसाइल प्रयोग गरेको युक्रेनी अधिकारीहरूले बताएका हुन् ।

यही घातक ९एम७२९ मिसाइलको गोप्य विकास गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा रूससँगको परमाणु नियन्त्रण सन्धि तोडेका थिए ।

युक्रेनका परराष्ट्रमन्त्री आन्द्रि सिबिहाले भने, ‘रूसले आईएनफ सन्धिअनुसार प्रतिबन्धित ९एम७२९ क्षेप्यास्त्र पछिल्ला महिनाहरूमा युक्रेनविरुद्ध प्रयोग गरेको छ ।’

उनका अनुसार, रूसले अगस्तदेखि हालसम्म युक्रेनविरुद्ध २३ पटक यो मिसाइल प्रहार गरेको छ । अर्का वरिष्ठ युक्रेनी अधिकारीले सन् २०२२ मा पनि ९एम७२९ का दुई प्रक्षेपण दर्ज भएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

युक्रेनी सैनिक स्रोतका अनुसार, अक्टोबर ५ मा प्रहार गरिएको एउटा ९एम७२९ मिसाइल एक २०० किलोमिटर उडेर युक्रेनमा खसेको थियो ।

९एम७२९ मिसाइलकै कारण सन् २०१९ मा अमेरिका मध्यम दूरीका परमाणु शक्ति (अस्त्र) सम्बन्धी सन्धि (आईएनएफ)बाट बाहिरिएको थियो ।

उक्त सन्धिले ५०० देखि पाँज हजार ५०० किलोमिटर दायराका भू–आधारित मिसाइलको विकासमा निषेध गरेको थियो ।

अमेरिकाले रूसले विकास गरेको मिसाइलले ५०० किलोमिटरको सीमा पार गर्न सक्ने भन्दै सन्धि उल्लङ्घन भएको आरोप लगाएको थियो, तर रूसले त्यो अस्वीकार गरेको थियो ।

अमेरिकास्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिजको मिसाइल थ्रेट वेबसाइटका अनुसार ९एम७२९ क्षेप्यास्त्रले दुई हजार ५०० किलोमिटर दूरीसम्म मार हान्न सक्छ । यसमा परमाणु वा परम्परागत दुवै प्रकारका वारहेड राख्न सकिन्छ ।

युक्रेनका परराष्ट्रमन्त्री सिबिहाले आईएनएफले प्रतिबन्ध लगाएको मिसाइल प्रयोग गरेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक अपमान गरेको बताएका छन् ।

उनी भन्छन्, ‘कीभ ट्रम्पका शान्ति प्रस्तावहरूको समर्थनमा छ र रूसमाथि अधिकतम दबाब सिर्जना गर्नुपर्ने आवश्यकता छ, जसका लागि युक्रेनको आक्रमण क्षमता बढाउनु जरुरी छ ।’

युक्रेनले अमेरिकालाई घातक टमहक मिसाइल उपलब्ध गराउन आग्रह गरेको छ, जुन आईएनएफ सन्धि अनुसार प्रतिबन्धित छैन ।

टमहक मिसाइल समुद्री प्रक्षेपणका लागि मात्र विकसित गरिएको हो । तर, रूसले भने अमेरिकाले युक्रेनलाई टमहक मिसाइल दिए त्यो कदम उक्साहटपूर्ण हुने चेतावनी दिएको छ ।

९एम७२९ को प्रयोगले रूसको लामो दूरीका हतियार भण्डारलाई अझ विस्तार गरेको सैन्य विश्लेषकहरू बताउँछन् ।

युरोपतर्फ दबाब सिर्जना गर्ने रणनीतिक सन्देश दिन पनि रूसले युक्रेनविरुद्ध ती मिसाइल प्रयोग गरेको उनीहरूको टिप्पणी छ ।

प्यासेफिक फोरमका वरिष्ठ अनुसन्धानकर्ता विलियम अल्बर्कको दाबी अनुसार पुटिनले युक्रेनसम्बन्धी वार्तालाई दबाबमा पार्न यस्तो कदम चालिरहेका छन् । ९एम७२९ क्षेप्यास्त्र त युरोपेली देशलाई लक्षित गर्दै  विकास गरिएको उनीहरूको दाबी छ ।

रूसले गत साताको परीक्षणमा आणविक ऊर्जाबाट चल्ने ‘बुरेभेस्निक’ क्रुज मिसाइल र ‘पोसेडन’ नामक आणविक टर्पेडो परीक्षण गरेको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने रूसले ९एम७२९ प्रयोग गरेकोबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, राष्ट्रपति ट्रम्पले बिहीबार अमेरिकन सेनालाई पुन: परमाणु परीक्षण सुरु गर्न आदेश दिएको बताएका थिए ।

अमेरिका सन्धिबाट बाहिरिएपछि रूसले मध्यम–दूरीका मिसाइल तैनाथ नगर्ने मोरेटोरियम घोषणा गरेको थियो । तर, पश्चिमी देशहरूले भने रूसले पहिले नै केही ९एम७२९ मिसाइल तैनाथ गरिसकेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?