+
+
Shares
उपार्जुन चाम्लिङसँग वार्ता :

‘भदौ २३ र २४ आफैंमा पूर्ण छैन, फागुन २१ ले पूर्ण बनाउनुपर्छ’

यो व्यवस्थाभित्र रहेका सञ्चालकहरू जो छन्, इमानदार भइदिए पुग्यो । चुनावबाट इमानदार, स्वच्छ छवि भएका र परिवर्तनका पक्षधरहरू आउँछन् भन्ने हाम्रो विश्वास छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ कात्तिक १४ गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलन दुई महिना पुग्दा पनि पक्षधरबीच मतभिन्नता छ तर नयाँ जनादेशमा चुनाव जान सर्वसम्मत छन्।
  • बुधबारको त्रिपक्षीय वार्तामा सबै दल चुनावको पक्षमा भए पनि एमालेले संसद् विघटन असंवैधानिक भन्दै चुनावबाट भाग्ने बहाना बनाएको छ।
  • जेनजीले संघीयता खारेजी र प्रत्यक्ष कार्यकारीका विषयमा विरोध जनाउँदै संविधानको रक्षा र सुशासनका लागि चुनावमा जानुपर्ने बताएको छ।

जेनजी आन्दोलनको दुई महिना पुग्न लागिसक्दा पनि आन्दोलनरत जेनजी पक्षधर एकमत देखिँदैनन् । गत बुधबार बालुवाटारमा बसेको त्रिपक्षीय वार्तामा पनि जेनजी प्रतिनिधिबीच नै मतभिन्नता देखियो ।

जेनजीबीच नै यो खालको असमझदारी किन भइरहेको छ ? अनि सबै चुनाव केन्द्रित हुनुपर्छ भन्दै गर्दा जेनजीको दल कहाँ छ ? जेनजीहरू के गरिरहेका छन् ? बुधबारकै वार्तामा दल र जेनजीबीच कस्ता कुरा भए ? यिनै विषयमा छलफलमा सहभागी जेनजी अगुवा उपार्जुन चाम्लिङलाई प्रश्‍न गरेका छौँ । प्रस्तुत छ, चामलिङसँगको कुराकानीको सम्पादित अंश :

निर्वाचन समयमै हुन्छ भन्नुभयो । के आधारमा यो निष्कर्षमा पुग्नुभयो ?

बालुवाटारमा बसेको त्रिपक्षीय वार्तामा सरकार पक्षसहित जति पनि दलका प्रतिनिधि र जेनजी साथीहरू हामी थियौं, सबैको मत नयाँ जनादेशमा जानुपर्छ भन्ने नै हो । परिवर्तनको गति र प्रतीक्षामा रहेकाहरू यो नयाँ परीक्षणमा देश जानुपर्छ भन्ने पक्षमा भएको हिसाबले मैले त्यसो भनेको हुँ । छलफलले पनि त्यही निष्कर्ष निकाल्यो ।

वार्तामा त्यहाँ के-के भयो ? दलहरू कसरी प्रस्तुत भए ?

दलका प्रतिनिधिका कुरा सुन्दा उहाँहरू पनि धेरै सुधारिएर आएको देखिन्छ । उहाँहरू पनि चुनावको पक्षमा हुनुहुन्छ । आफूलाई नयाँ परीक्षामा होम्नुपर्छ भन्ने चाहनुहुन्छ र देशमा पनि नयाँ परीक्षा होस् भन्ने चाहनुहुन्छ। एमाले मात्रै चुनावमा जान डराएको हो कि भन्ने देखिन्छ । बाँकी सबै दलहरू चुनावको पक्षमा हुनुहुन्छ ।

एमालेमा चाहिँ चुनावसँग डर रहेछ । जनताले सजाय दिन्छन् भन्ने उहाँहरूलाई लागेको छ । त्यसले उहाँहरूको बहाना के छ भने, संसद् विघटन असंवैधानिक छ, त्यसैले पुनर्स्थापना गरेर जानुपर्छ । त्यो उहाँहरूको चुनावबाट भाग्ने बहानाभन्दा अरु होइन भनेर हामीले बुझेका छौँ ।

आन्दोलनपछि पहिलोपटक दल र जेनजीबीच संवादको ढोका खोलियो । तर जेनजी एक भएर गएको देखिएन । आफू–आफू नै मत बाझिने अवस्थामा पुग्नुभएछ नि ?

हामी छरिएको होइन । जेनजीलाई बुझ्ने कुरामा यहाँहरू अलमलमा पर्नुभयो जस्तो लाग्छ । सडकमा जेनजी कुन मुद्दा लिएर गएको थियो ? भ्रष्टाचार अन्त्य, सुशासन, अभिव्यक्ति स्वतन्त्रता होइन ? यी कुराहरूमा जेनजी कोही नै विभक्त छैन । यी हाम्रा आधारभूत कुराहरू हुन् । यसमा सबै जेनजी अहिले पनि सँगै छन् ।

त्यस बाहेकका राजनीतिक विचारहरू त सबैको एउटै हुनुपर्छ भन्ने छैन । बहुदलीय लोकतन्त्र मान्ने देशमा विविधता छ । विभिन्न जाति र धर्म, भाषा भनेर गर्व गर्ने हामी, अनि सबै जेनजीको वैचारिक कित्ता पनि एउटै हुनुपर्छ भन्ने अपेक्षा यो समाज अनुकूल छैन । उमेर समूहको हिसाबले र आधारभूत कुराको हिसाबले हामी सँगै छौं ।

भनेपछि बहुमत जेनजी संविधानको रक्षा गरेर निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा छन् हैन ?

बहुमत मात्रै होइन, सर्वसम्मत हो । जेनजीले सडकमा उठाएको आवाज संस्थागत हुनुपर्छ, त्यसको सुरक्षित अवतरण हुनुपर्छ भन्नेमा जेनजी सर्वसम्मत नै छन् । नयाँ जनादेशमा जाने कुरामा पनि हामी एकमत छौं ।

वार्तामा संघीयता खारेजीदेखि प्रत्यक्ष कार्यकारीका कुरा उठेछन् । तपाईंले त संघीयतामा तलमाथि भयो भने १० लाख मान्छे सडकमा लिएर आउँछु भन्नुभएछ । खास भएको के थियो ?

हो । त्यहाँ केही हाम्रै साथी र दलले क्रमशः प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र संघीयता खारेजीको विषय उठाउनुभयो । यदि त्यस्तो नभए चुनाव सम्भव छैन भन्ने खालको कुरा पनि राख्नुभयो । त्यसपछि मैले त्यो कुरा आम जेनजीको विरुद्धमा भयो भनेको हुँ । र यो मैले भन्दा पनि सर्वसाधारणहरू स्वस्फुर्त सडकमा निस्कन्छन् र त्यसको अगाडि यो उपार्जुन चाम्लिङ उभिएको हुन्छ भनेर भनेको हो।

आम जेनजीको मात्र होइन, ७६ जना शहीदमाथि अर्को अपराध भयो । किनभने, शहीदहरू कोही पनि संविधान च्यात्न भनेर सडकमा जानुभएको थिएन । यो व्यवस्था मास्न सडकमा जानुभएको थिएन । म आफैँ भदौ २३ गते माइतीघरदेखि बानेश्वरसम्मको भिडमा म अगाडि छु । र, त्यो दिन प्रयोग भएको ब्यानर, पर्चा वा पम्प्लेट सबै बनाउनेमा म पनि संलग्न छु ।

एउटा पनि पर्चा, पम्प्लेट वा ब्यानर तपाईं देखाइदिनुहोस्, जसले संघीयता खारेज गर भनेको होस् । जसले यो शासकीय स्वरूप वा देशको व्यवस्था परिवर्तन गर भनेको होस् । त्यसैले संविधानलाई समस्यामा पार्नेगरी यस्ता माग राख्नु ७६ जना शहीदमाथि अर्को अपराध हुन्छ ।

आम जेनजीको मात्र होइन, ७६ जना शहीदमाथि अर्को अपराध भयो । किनभने, शहीदहरू कोही पनि संविधान च्यात्न भनेर सडकमा जानुभएको थिएन । यो व्यवस्था मास्न सडकमा जानुभएको थिएन । म आफैँ भदौ २३ गते माइतीघरदेखि बानेश्वरसम्मको भिडमा म अगाडि छु ।

त्यो अपराधको मतियार बन्ने पक्षमा म छैन । म मात्रै होइन, मेरा साथीहरू र विशेषगरी सञ्चार माध्यमहरू कसैलाई पनि त्यसको मतियार बनाउने तरिकाले लाग्नु हुँदैन भन्ने हिसाबले मैले त्यहाँ प्रष्ट पार्न खोजेको हुँ ।

यो संविधानमा संशोधन गर्नेदेखि अन्य विषय पनि होलान् । तर त्यो परिवर्तनको बाटो पनि वैधानिक हुनुपर्छ भनेर हामीले सुरुदेखि भनिरहेका छौं । त्यसका लागि महत्वपूर्ण समय फागुन २१ हो ।

भदौ २३ र २४ को आन्दोलन आफैँमा पूर्ण छैन । त्यसलाई पूर्ण बनाउन फागुन २१ को मिति हामीले इतिहासमा राखेका हौं । इतिहास २३ र २४ मा मात्र पूरा हुँदैन । त्यसलाई पूरा गरेको दिनको रूपमा फागुन २१ लाई बनाउनुपर्छ ।

बालुवाटारमा दलहरूलाई तपाईंहरूको सन्देश चाहिँ के थियो ?

जुन हिसाबले जेनजी पुस्ता परिवर्तनको पक्षमा छ, नयाँ वेग र प्रतीक्षामा छ, त्यसमा सहयोग गर्न हामीले हाम्रा अभिभावकहरूले मार्गप्रशस्त गरिदिएर सहयात्रीको रूपमा चुनावमा आउन भनेका हौँ ।

दलहरूको प्रतिक्रिया के थियो ?

सबै दलहरू चुनावको पक्षमा देखिनुभएको छ । कतिपयले चाहिँ चुनाव शान्तिपूर्ण होला त भन्नेमा शंका व्यक्त गर्नुभयो । त्यो अस्वाभाविक हैन । नेकपा एमालेको मात्रै विघटन असंवैधानिक छ भन्ने कुरा थियो । त्यसको प्रतिवाद गर्दै मैले केही कुरा राखेँ ।

‘कुनै एउटा दल थियो, जसले आजभन्दा केही वर्षअघि एक वर्षको अवधिमा दुई चोटी संसद् भंग गरेको थियो । त्यो दलको नाम यहाँले भन्दिनुभयो, त्यहाँबाट कुरा गर्न मज्जा आउँथ्यो’ भनेर मैले भनेँ । त्यसपछि उहाँहरूको खासै प्रतिक्रिया आएन ।

दलहरूले चुनावको विषयमा शंका व्यक्त गर्दा प्रधानमन्त्रीको प्रतिक्रिया के थियो नि ?

उहाँको एउटै कुरा छ– कुनै पनि हालतमा चुनाव तोकिएकै मितिमा हुन्छ । चुनाव नगराउने वातावरण ज–जसले सिर्जना गरिरहनुभएको छ, तपाईंहरूलाई म भन्छु– चुनाव हुन्छ, जुनै हालतमा गराएरै छाड्छु भनेर प्रधानमन्त्रीले भन्नुभयो ।

बुधबारको वार्ताबाट के आभास भयो त ? अब दलहरूबाट रुपान्तरणको अपेक्षा छ ?

मैले त्यो सम्भावना देखेको छु । अलि सकारात्मक भएर भन्नुपर्दा दलहरू परिवर्तनको पक्षमा छन् । हामीले त के पनि भन्या हो भने, तपाईंहरू हाम्रो सत्रु होइन, कहिले पनि हामी दलहरूलाई सत्रु मानेका छैनौं, सुध्रिनु पर्छ मात्रै भन्या हो ।

हामी अब प्रतिस्पर्धी मात्रै पनि होइनौं, कतिपय सन्दर्भमा सहयात्री पनि हुन्छौं भन्यौँ । तर त्यसका लागि दलहरू परिवर्तनको जनादेश लिएर आउनुपर्छ । देशलाई अगाडि लाने अग्रगमनको मुद्दा लिएर आउनुपर्छ । यी लगायत सन्देशहरू हामीले दललाई दिएका थियौँ, जसलाई लिएर उहाँहरू पनि सकारात्मक हुनुहुन्छ ।

चुनावलाई लिएर तपाईंहरूको तयारी के छ ? अहिलेसम्म नयाँ दल खोल्ने छनक देखिएको छैन । कसरी काम गर्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका मुद्दाको स्थायित्वको लागि, संस्थागत विकासको लागि चुनावमा जानुपर्छ भन्ने हाम्रो साझा मत हो । सडकमा जाँदै गर्दाको आधारभूत कुराहरूमा एकमत भएका जेनजीहरू त्यसको संस्थागत विकासका लागि चुनावमा जान्छन् ।

त्यसमा म अहिले प्रदेश नम्बर १ को संयोजक हुँ, मैले प्रदेश नम्बर १ को १४ जिल्लामा संगठन बनाइराखेको छु । लगभग ७० भन्दा बढी जिल्लामा संगठन बनिसक्या छ । त्यो संगठन भोलि चुनावमा जाँदा त्यो संगठन दलको रूपमा जान्छ ।

तपाईंहरूले बनाउने दल कस्तो हुन्छ ?

त्यसमा छलफल भइरहेको छ ।

दल दर्ता गर्ने समय त सकिन लागिसक्यो नि ! भ्याइन्छ ?

सबै काम भइरहेको छ । हामी भ्याउँछौँ । नेतृत्वको विषयमा बोल्न अहिले हतार नगरौं ।

पुराना दलले आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास गरिरहेको पनि देखिन्छ । आन्दोलन संस्थागत गर्ने कुरामा कहाँ पुग्नुभएको छ ?

हाम्रो सबैभन्दा बढी आपत्तिको विषय नै त्यही भयो । भदौ २३ लाई बिर्सेर भदौ २४ को चर्चा मात्र भइरहेको छ । सञ्चार माध्यममा पनि केही राजनीतिक विश्लेषक भनिएकाहरूबाट त्यस्ता कुरा आइरहेका छन् । जबकि, २३ गते नभई त २४ गते भएको छैन नि ।

धेरै ठूलो कुरै छैन । हामीले धेरै ठूलो कुरा, धेरै वैचारिक कुरा, धेरै सिद्धान्तको कुरा गर्ने परिस्थिति यो पनि होइन । हामीले उठाउनुपर्ने मुख्य कुरा नै कामको नतिजा हो । सुशासन र भ्रष्टाचार अन्त्यको विषय हो ।

यसलाई यसैगरी केलाएर हेर्नुपर्छ । बाँकी आयोगले काम गरिरहेका छ । जसले विध्वंश गरे, ती अपराधीको जिम्मा पनि हामीले लिएका छैनौँ । यी विषयमा स्वतन्त्र छानबिन हुनुपर्छ ।

बाँकी आन्दोलन संस्थागत गर्ने विषयमा राष्ट्रपति र हामी आन्दोलनकारीबीच लिखित सहमति गरेर अघि बढ्ने कुरा भइरहेको छ । यसमा काम भइरहेको छ । त्यसपछि चुनावमा देशलाई लगेर यी सबै कुरालाई जनादेशबाट पुष्टि गराउनुपर्छ । हामीले त्यसको लागि काम गरिरहेका छौँ ।

चुनावी एजेन्डा चाहिँ के छन् ? जनतामाझ तपाईंहरू कसरी जानुहुन्छ ?

धेरै ठूलो कुरै छैन । हामीले धेरै ठूलो कुरा, धेरै वैचारिक कुरा, धेरै सिद्धान्तको कुरा गर्ने परिस्थिति यो पनि होइन । हामीले उठाउनुपर्ने मुख्य कुरा नै कामको नतिजा हो । सुशासन र भ्रष्टाचार अन्त्यको विषय हो ।

कुनै कुराको नतिजा दिन संविधान बाधक छँदै छैन, बरु नेतृत्व शुद्ध भइदिनुपर्यो । यो व्यवस्थाभित्र रहेका सञ्चालकहरू जो छन्, इमानदार भइदिए पुग्यो । चुनावबाट इमानदार, स्वच्छ छवि भएका र परिवर्तनका पक्षधरहरू आउँछन् भन्ने हाम्रो विश्वास छ । त्यसकै लागि तयारी भइराखेको छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?