
२ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित संकटकाल लागेको बताएका छन् ।
उपभोक्ता अधिकार दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संकट टार्न सरकार सम्पूर्ण तयारीका साथ खटिएको बताए ।
‘कोरोना भाइरसका कारण अहिले मुलुकमा अघोषित संकटकाल लागेको छ, संकट टार्न सबै निकाय दिनरात नभनी खटिरहेका छौं’ उनले भने, ‘संकटका बेला जनता, सरकारी तथा गैरसरकारी निकाय, अधिकारकर्मी सबैको साथ र सहयोग चाहिएको छ । यो संकट राज्यले कुनै पनि हालतमा टार्छ ।’
मन्त्री भट्टले संकटका बेला खाद्यवस्तु र इन्धन मौज्दात नराख्न आग्रह गरेका छन् । उनले संकटका बेला काम गरेन भनेर सरकारी निकायलाई आरोप लगाउनुभन्दा कालोबजारी भएको देखेमा सूचना दिन आग्रह गरे ।
संकटका बेला उद्योग, वाणिज्य मन्त्रालयको काम महत्वपूर्ण हुने भन्दै मन्त्री भट्टले अहिले आफू र कर्मचारीहरु २४ घण्टे ड्युटीमा रहहेको पनि दावी गरे । ‘कर्मचारीलाई दिनरात नभनी जुनसुकै बेला खटिनुपर्छ भनेको छु’ उनले भने ।
प्रतिक्रिया 4