
१० चैत, काठमाडौं । यूएईमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित दुई जना नेपाली उपचारपछि निको भएका छन् । यूएईको स्वास्थ्य मन्त्रालयले अवुधाबीमा रहेका दुवै नेपालीलाई स्वास्थ्यलाभ भएको जानकारी दिएको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए ।
कोरोनाबाट पीडित ती नेपालीहरुको परिचय भने गोप्य राखिएको छ ।
खुसीको खबर- युएइको स्वास्थ्य मन्त्रालय (Ministry of Health and Prevention) ले जनाएअनुसार COVID-१९ बाट संक्रमित २ जना नेपालीलाई स्वास्थ्यलाभ भएको छ। चुस्त उपचारका लागि युएइ सरकारलाई धन्यवाद। pic.twitter.com/lwgxwnpJnu
— Krishna Prasad Dhakal (@krishnadhakal07) March 23, 2020
वैदेशिक रोजगारीको सिलसिलामा यूएईको अबुधाबीमा गएका दुई जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार जारी राखिएको थियो ।
यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये हालै दुई जना नेपालीसहित तीन जना बिरामी निको भएका छन् । एक जना भने इटालीका नागरिक छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्व महामारीको संज्ञा दिएसँगै यूएई सरकारले सतर्कता अपनाएको छ । यद्यपि हालै त्यहाँ १९ जना नयाँ संक्रमित फेला परेका थिए ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि युएई सरकारले पर्यटकीयस्थल, रेस्टुरेन्ट, मानिसहरुको जमघट हुने प्रमुख क्षेत्र तथा विद्यालयहरू अनिश्चितकालका लागि बन्द गराएको छ । साथै यूएई भ्रमणमा आउनेहरूका लागि भिसासमेत बन्द गरिएको छ ।
प्रतिक्रिया 4