Comments Add Comment

लकडाउन पालना नभएपछि गौरका तरकारी पसलसमेत बन्द

घरदैलोमै सेवा दिने उद्योग वाणिज्य संघको तयारी

१६ चैत, रौतहट । लकडाउनको पालना नभएपछि रौतहटको गौरमा आजबाट दुई दिनसम्म तरकारी र खाद्यान्न पसलसमेत बन्द गराइएको छ ।

दैनिक उपभोग्य सामान खरिद गर्न बिहान र साँझपख घर बाहिर निस्किने स्थानीयबासीको भिडका कारण संक्रमण फैलने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार र सोमबार औषधिबाहेकका सबै पसलहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले देशैभरि लकडाउन गरेर बिहान र साँझपख भने मानिसहरु तरकारी, दूध तथा अन्य खाद्यान्न खरिद गर्न बाहिर निस्किने गरेका छन् । जसका कारण किराना पसल तथा तरकारी पसलहरुमा स्थानीयबासीको भिड लाग्ने गर्दछ ।

‘किनमेलकै बहानामा सबैजना घरबाट बाहिर निस्कने, डुल्न जाने जस्ता गतिविधि हेर्दा लकडाउनको मतलव गरेको देखिएन, त्यसैले अब दुई दिन सटडाउन गर्ने निर्णय गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने ।

सटडाउनको पहिलो दिन आइतबार बिहानैदेखि गौरमा कुनै पनि पसल खुलेका छैनन् भने सुरक्षाकर्मीले स्थानीयबासीलाई घर बाहिर निस्कन दिएका छैनन् ।

लकडाउनलाई कडाइका साथ पालना गर्न लगाउने र अवज्ञा गर्नेलाई कारवाही गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएको प्रजिअ घिमिरेले बताए ।

घरदैलोमै सेवा दिने तयारी

बजारहरु बन्द भए पनि अत्यावश्यक खाद्यान्नका लागि उद्योग वाणिज्य संघको सहकार्यमा सहज आपूर्तीको व्यवस्थापन भइरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पंडीत जयसवालले बजारमा भिड हुन नदिन र मूल्य वृद्धि समेत नहुने गरी उपभोक्ताको घरदैलोमै सेवा पुर्याउन आवश्यक काम भइरहेको बताए ।

बजार बन्द भएपछि उद्योग वाणिज्य संघले गौरमा रहेका सम्पूर्ण खाद्यान्न पसलहरुको नाम र मोबाइल नम्बर जारी गर्ने र आवश्यक सामग्री घरसम्म पु¥याउने व्यवस्था गर्न लागेको जयसवालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment