Comments Add Comment

दुर्गममा नवआगन्तुकलाई पस्न पूर्ण रोक

२० चैत, सुर्खेत । कोभिड-१९ संक्रमणबाट जोगिन दुर्गमका गाउँलेले नवआगन्तुकलाई गाउँ पस्न रोक लगाएका छन् । जुम्ला तिला गाउँपालिका ७, ८ र ९ वडामा पर्ने सुँडी, पुरु, जुम्लाकोट, रिपी, मालापानी, राँसा, ढिपुलगयात गाउँले नयाँ मान्छेलाई गाउँ पस्न पूर्ण निषेध गरेका हुन् ।

गाउँहरु अहिलेसम्म सुरक्षित रहेको र नयाँ मान्छेबाट कोरोना भाइरस सर्ने डरले नयाँ मान्छेलाई गाउँ पस्न रोक लगाइएको तिला ८ का वडाध्यक्ष सन्तवीर रावतले जानकारी दिए ।

‘यी गाउँहरु जुम्लाकै दुर्गम क्षेत्रमा पर्छन् । लाग्छ, अहिलेसम्म हामी सुरक्षित छौं,’ वडाध्यक्ष रावतले भने, ‘प्रत्येक गाउँमा नयाँ मान्छे आउँदा गाउँ पस्न निषेध गर्ने र एक गाउँको मान्छे अर्को गाउँमा नजान आग्रह गरेका छौं ।’ गाउँमा प्रहरी प्रशासन नपुग्ने भएकाले युवाको सहयोगमा बन्द आदेशलाई प्रभावकारी बनाइने वडाध्यक्ष रावतको भनाइ छ ।

उनका अनुसार, गाउँका सबैलाई कोरोनाबाट बच्न हातमुख धुन सिकाइएको छ भने मास्क र साबुन वितरण गरिएको छ । नयाँ मान्छे प्रवेश नगरुन् भनेर सुरक्षाकर्मी समेत राखिएको छ । नियम तोडे कारबाही पनि गरिने छ ।

लकडाउनले गाउँमा प्रभाव नपरेकाले गाउँपालिका तथा वडा, स्थानीय राजनीतिक दल, युवा र महिला मिलेर गाउँ पस्न पूर्ण निषेध गरिएको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment