+
+

नारायणीलाई कोभिड अस्पताल बनाएर अरु सेवा नेशनलको भर

सुरेश बिडारी सुरेश बिडारी
२०७७ वैशाख २ गते १९:४२

२ वैशाख, वीरगञ्ज । नारायणी अस्पताल बारा, पर्सा र रौतहटका सर्वसाधारणको पहुँचमा रहेको विशेषज्ञ सेवा उपलब्ध सरकारी अस्पताल हो । यस क्षेत्रका मानिसहरु पेट दुख्यो भने पनि कुदेर त्यहीँ पुग्छन्, सर्ददंश भयो भने पनि दौडाएर त्यहीँ लैजान्छन् ।

तर वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि नारायणी अस्पतालमै लगियो । यससँगै अस्पतालमा आकस्मिकबाहेकका अरु सेवा बन्द भए ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणीलाई नै प्रदेश २ को कोभिड अस्पताल घोषणा गरेको छ । प्रदेश २ मा भेटिएका कोरोना संक्रमितहरुको पनि अब यहीँ उपचार हुन्छ । सोमबार नै रौतहटका एक संक्रमितलाई अस्पताल ल्याइएको छ ।

नारायणीलाई कोभिड विशेष अस्पताल बनाएको मन्त्रालयले अरु बिरामीको उपचार गर्ने जिम्मा भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बसरुद्दिन अन्सारी सञ्चालक रहेको निजी मेडिकल कलेजलाई दिएको छ । मन्त्रालयले नेशनल मेडिकल कलेजलाई पत्र लेख्दै नारायणीमा भर्ना भएका एवं त्यहाँबाट पठाइएका बिरामीलाई स्वास्थ्य बीमा बोर्डले तोकेको सेवा शुल्कभन्दा बढी नहुने गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

नारायणी अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मी भने नारायणीलाई कोभिड अस्पताल बनाउनुभन्दा विकल्प खोज्नुपर्ने बताउँछन् ।

‘अहिले सर्पदंशको समय हो, यसको उपचार नारायणीबाहेक अन्त हुँदैन रेविजको पनि त्यस्तै हो । छुट दिएका दीर्घ रोगको उपचार हामीकहाँ हुन्छ । डेलिभरीमा दैनिक ६÷७ वटा सिजर गरिन्छ’ अस्पतालका चिकित्सक डा. उदयनारायण सिंह अनलाइनखबरसँग भने, ‘नारायणीलाई कोभिड अस्पताल बनाउनेवित्तिकै सबै सेवा प्रभावित हुन्छ ।’

नारायणीमा ७ वटा डायलायसिस मेसिन सञ्चालनमा छ । त्यो सेवा अन्य अस्पतालले प्रदान गर्न असम्भव भएको चिकित्सकहरुको तर्क छ । नारायणीमा अन्य सेवासहित स्क्रिनिङ र आइसोलेसनसम्म राखेर कोरोना उपचारका लागि अर्को व्यवस्था गर्नुपर्ने उनीहरुको तर्क छ ।

चिकित्सक संघ नारायणीका अध्यक्ष डा अरुण सिंह पनि भन्छन्, ‘नारायणीको सेवा जारी राखेर महामारीका लागि अस्थायी कोभिड अस्पताल सञ्चालन गर्नु उपयुक्त हुन्छ ।’

वीरगञ्जका निजी अस्पतालहरु पनि कोभिड अस्पताल बनाउन सहमति दिइसहेका छन् । वीरगञ्ज हेल्थकेयर अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीसँग छलफल लगभग टुंगोमा पुगिसकेको थियो । उनी अस्पतालका कर्मचारीको व्यवस्थापनसहित उचित खर्च ब्यहोर्ने लिखित प्रतिबद्धता सरकारबाट आए कोभिड अस्पताल सञ्चालन गर्न दिन सहमत छन् । हेल्थ केयरमा २५ बेडको आईसीयू र १० वटा भेन्टिलेटर छ ।

यसैगरी गण्डक अस्पतालका सञ्चालक रहबर अन्सारीले पनि आफ्नो अस्पताल कोभिड अस्पताल बनाउन वीरगञ्ज महानगरपालिकालाई दिने घोषणा गरेका छन् । सञ्चालन खर्च दिए अस्पतालको संरचना, उपकरण र जनशक्ति महानगरलाई दिन तयार रहेको उनी बताउँछन् । अस्पतालमा १० बेडको आईसीयु, ३ वटा भेन्टिलेटरसहितका उपकरण छ ।

प्रदेश सरकारले पनि नारायणीको साटो बाराको कलैयालाई कोभिड अस्पताल बनाउन चाहेको थियो ।

तर केन्द्र सरकारले विशेषज्ञ सेवाहरु भएको नारायणीलाई कोभिड अस्पताल बनाएर निजी मेडिकल कलेजलाई अरु सेवा सञ्चालन गर्न दिने निर्णय गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. मदन उपाध्यय स्वास्थ्य मन्त्रालयले नेशनल मेडिकल कलेजमा पठाउन निर्देशन दिएकाले त्यसअनुसार व्यवस्थापन मिलाउन लागिएको बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?