
६ वैशाख, काठमाडौं । भारतको केरल प्रान्तमा त्यहाँको स्थानीय सरकारले लकडाउन चरणवद्ध रुपमा खुकुलो पार्ने निर्णय गरेको छ ।
स्थानीय सरकारका अनुसार प्रान्तका १४ मध्ये १० जिल्लामा पनि चरणवद्ध रुपमा अप्रिल २० र २४ देखि लकडाउन हटाइनेछ । सोमबारदेखि सात जिल्लाको प्रतिबन्ध खुकुलो पारिने छ । यसमध्ये दुई जिल्लामा पूर्णरुपमा लकडाउन हटाउने निर्णय गरेको छ ।
अहिलेसम्म दुई जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का कुनै संक्रमित फेला नपरेसँगै सरकारले लकडाउन हटाउने निर्णय गरेको हो ।
अन्य जिल्लामा भने केन्द्र सरकारले दिएको मापदण्डको आधारमा लकडाउन हटे पनि केही निश्चित काममा भने प्रतिबन्ध कायम रहनेछ । तीन जिल्लामा अप्रिल २४ देखि लकडाउन खुकुलो पारिनेछ ।
भारतको केरलमा सबैभन्दा पहिला जनवरी २९ मा कोरोना भाइरसको संक्रमित भेटिएको थियो । अहिलेसम्म तीन सय ९५ संक्रमित भएका छन्, जसमध्ये तीनजनाको मृत्यु भइसकेको छ ।
केरलका कुनै पनि जिल्लामा एक सयभन्दा बढी संक्रमित छैनन् । केरलका सबैभन्दा प्रभावित चार जिल्लामा भने सरकारले मे ३ सम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ ।
लकडाउन खुले पनि हवाइ तथा रेल यात्रामा प्रतिबन्ध जारी रहनेछ । साथै अटो तथा ट्याक्सी सेवा पनि बन्द रहनेछ भने थिएटर, मल र धार्मिक समारोहमा पनि प्रतिबन्ध लगाइएको छ ।
बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4