Comments Add Comment

कोभिड–१९ : विश्वमा कहाँ के भइरहेको छ ?

हामीकहाँ कोरोना संक्रमितको संख्या बढ्दो छ । उदयपुर जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या २९ पुगेको छ । यससहित नेपालमा कुल संक्रमित संख्या ४७ पुगेको छ । त्यसमध्ये ७ जना निको भएका छन् ।

विश्वमा भने कोरोनाको संक्रमणबाट एक लाख ८३ हजारले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या २६ लाख ३० बढी छ । सात लाख १४ हजारले कोरोनालाई जितेर घर फर्किएका छन् ।

अमेरिकामा मृत्युदर बढी

कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या सर्वाधिक छ । अहिलेसम्म अमेरिकामा ४५ हजार आठ सय १९ जनाको मृत्यु भएको छ । त्यहाँ आठ लाख बढी संक्रमित छन् ।

इटलीमा २५ हजारको मृत्यु

कोरोना भाइसले सबैभन्दा बढी अत्याएको मुलुक हो, इटली। उक्त मुलुकले पनि कोरोनाबाट धेरै क्षति व्यहोर्नु पर्‍यो । हलसम्म त्यहाँ मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । संक्रमित एक लाख ८७ हजार बढी छन् ।

स्पेन र फ्रान्सको अवस्था

कोरोना भाइरसले स्पेनलाई पनि नराम्ररी तर्सायो । उक्त मुलुकमा अहिलेसम्म कोरोना संक्रमणबाट २१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । दुई लाख बढी संक्रमित छन् । फ्रान्समा २० हजारले ज्यान गुमाएका छन् । त्यहाँ कोरोना संक्रमितको संख्या एक लाख १७ हजार बढी छ।

बेलायतमा १८ नेपालीले ज्यान गुमाए

यसैगरी बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ हजार नाघेको छ । त्यहाँ एक लाख ३३ हजार संक्रमित छन् । बेलायतमा कोरोनाबाट १८ जना नेपालीले समेत ज्यान गुमाएका छन् ।

भारतमा बढ्दै

छिमेकी भारतमा कोरोना संक्रमण बढ्दो छ । त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या छ सय नाघिसकेको छ । २० हजार बढीलाई कोरोना भाइरसको संक्रमण छ।

कोरोना सबैभन्दा बढी प्रभावित मुलुकहरूको सूचीमा भारत १७ औं नम्बरमा छ । गएको शनिवार मात्र भारतमा १६ सय बढीमा कोरोना संक्रमित फेला परेका थिए । गएको मंगलबार एकै दिन १४ सय १३ जना कोरोना संक्रमित थपिएका थिए ।

हालै मात्र भारतले देशव्यापी रुपमा लगाएको लकडाउनलाई केही खुकुलो बनाएको छ। खासगरी खेती किसानी गर्नेहरूका लागि लकडाउन खुकुलो बनाइएको हो । खाद्यान्न अभावबाट बच्नका लागि कृषि फार्महरू सञ्चालन गर्न दिइएको छ ।

दक्षिण कोरियाको कुरा

दक्षिण कोरियाले भने कोरोना भाइरसलाई लकडाउन बिना नै पराजित गरेको अवस्था छ । चीनमा कोरोना फैलिए लगत्तै कोरियाले चिकित्सा प्रणालीलाई रक्षात्मक अवस्थामा राख्न सक्यो।

त्यहाँ कोरोना संक्रमितको खोजी, निगरानी र उपचार तीव्र गतिमा भयो । १० मिनेटमै नमुना संकलन गरी २४ घण्टाभित्र नतिजा दिनेगरी व्यापक रुपमा परीक्षण गर्‍यो। पूर्वसावधानी र चुस्त उपचार सेवाका साथै त्यहाँका नागरिकले गरेको सहयोगले कोरियामा कोरोनाले अरू तहल्का मच्याउन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment