Comments Add Comment

नागढुंगा नाकामा बन्यो स्यानिटाइजिङ टनेल

नागढुंगामा बनाइएको स्यानिटाइजिङ टनेल । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

१८ वैशाख, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण भएको छ । काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरुलाई निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको हो ।

बिहीबार यस टनेलको परीक्षण गरिएको छ भने शुक्रबार उदघाटन गर्ने योजना छ । काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो ।

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले केन्द्र सरकार, चन्द्रागिरी नगरपालिकाबाट अनुमति लिएर ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको र शुक्रबार औपचारिक रुपमा उदघाटन हुने जानकारी दिए ।

टनेल सञ्चालन स्थानीय प्रहरीले गर्ने सहमति भएको छ । काठमाडौं भित्रिने गाडीहरु यही टनेलमार्फत गुड्नुपर्ने छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ जसका कारण कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

नागढुंगामा टनेलले राम्रो नतिजा दिए फर्पिङ नाकामा पनि निर्माण गर्ने योजना रहेको सुन्दर यातायात प्रालिका अध्यक्ष थापाले बताए ।

निसंक्रमणमा आवश्यक पर्ने पानी बिजुली, बत्ती र सुरक्षात्मक उपकरण स्थानीय तहले नै व्यवस्था गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment