Comments Add Comment

किट नहुँदा विराटनगरमा कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिन बन्द

फाइल तस्वीर

२१ वैशाख, विराटनगर । कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट (आरएनए एक्ट्रयाक्सन किट) माग गर्दै कोशी अस्पतालले दुई पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखिसक्यो । तर मन्त्रालयले किट नपठाउँदा कोशी अस्पतालको कोरोना परीक्षण ल्याबको अटोमेटिक मेसिन एक सातायता बन्द छ ।

मन्त्रालयले रिएजेन्ट किट नपठाएका कारण सामान्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने बाध्यता रहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् । ‘मेसिनबाट एकै पटक ७२ वटा स्वाब परीक्षण गर्न सकिन्छ’ उनले भनिन् ‘मन्त्रालयले रिएजेन्ट किट नपठाउँदा समस्या छ ।’

शनिबार प्रदेश सरकारले कोरोना परीक्षणका लागि छुट्टै ल्याब थप गरेको छ । तर कोशी अस्पतालको ल्याब पूर्ण क्षमतामा सञ्चालन भएको छैन । सामान्य रुपमा परीक्षण गर्दा काम थोरै हुने र रिपोर्ट पनि ढिलो आउने मेसु मिश्राले बताइन् ।

प्रदेश १ मा मात्र ३१ जना कोरोना संक्रमित छन् । संक्रमण देखिएको स्थानमा परीक्षणको दायरा बढाउनुपर्ने भए पनि रिएजेन्ट अभावमा संकलन भएका स्वाबको परीक्षण पनि ढिलो भएको मिश्राले बताइन् । ‘किट नहुँदा मेसिन चल्ने कुरा भएन । म्यानुअल गर्दा थोरै मात्र परीक्षण गर्न सकिन्छ’ उनले भनिन् ‘मन्त्रालयमा दुई पटक पत्र लेखेर पठाएका छौं, आउँछ होला ।’

कोशी अस्पतालले हालसम्म ६४१ जनाको स्वाब परीक्षण गरेको छ ।

मन्त्रालयमा पनि थोरै छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल अटोमेटिक मेसिनमा प्रयोग हुने किट मन्त्रालयमा पनि थोरै मात्र रहेको बताउँछन् ।

मन्त्रालयमा भएका सामग्रीलाई आवश्यकता अनुसार वितरण गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment