Comments Add Comment

जनप्रतिनिधिले एम्बुलेन्समा ल्याएका दुई जनामा देखियो कोरोना संक्रमण

२ जेठ, दाङ । दाङमा शुक्रबार भेटिएका तीन जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितमध्ये दुई जना भारतबाट आएको खुलेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का दुई जनालाई स्थानीय जनप्रतिनिधिले नेपाल-भारत सीमा क्षेत्रमा पर्ने कपिलवस्तुको कृष्णनगरस्थित एक क्वारेन्टाइनबाट एम्बुलेन्समा राखेर ल्याएका थिए ।

आफ्नै गाउँपालिकाका दुई जना व्यक्ति अलपत्र परेको खबर आएपछि वडा नम्बर तीनका अध्यक्ष तुलसीराम अधिकारीको सिफारिसअनुसार  गढवा उद्योग वाणिज्य संघको एम्बुलेन्स उनीहरुलाई लिन बुधबार कृष्णनगर गएको थियो ।

तर कृष्णनगरबाट पाँच जना सो एम्बुलेन्समा चढे । गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रवीलाल आचार्यले वडा नम्बर ३ को सिफारिस अनुसार २ जनालाई लिन कृष्णनगर गएको तर प्रहरीले पाँच जनालाई चढाएर पठाइदिएको बताए । ती पाँच जनामध्ये एक जना बर्दियाका व्यक्ति थिए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको कालाकाटेबाट गढवा गाउँपालिका जाने बाटो छुट्टिने भएकाले बर्दिया जान लागेका व्यक्ति कालाकाटेस्थित सशस्त्र प्रहरी क्याम्प नजिक ओर्लिए ।

अरु चार जनालाई बोकेर एम्बुलेन्स गढवा पुग्यो र उनीहरुलाई सीधै जनता माविको क्वारेन्टाइनमा राखियो । क्वारेन्टाइनमा रहेको बेला बिहीबार थ्रोट स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा परीक्षण गरिएको थियो ।

दुवैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुसँगै एम्बुलेन्स चढेर आएका र बीच बाटोमै ओर्लिएका अर्का व्यक्ति कहाँ छन् भन्ने खुलेको छैन ।

गढवा स्कुलको क्वारेन्टाइनमा हाल दाङका ७ र बर्दिया राजापुरका एक जना गरी आठ जना छन् । उनीहरु सबै भारतबाट आएका हुन् ।

शुक्रबार दाङमा गढवा गाउँपालिकाका २ र तुलसीपुर उपमहानगरपालिकाका १ गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment