Comments Add Comment

किट र भीटीएम अभावले पर्सामा कोरोना परीक्षण प्रभावित

५ जेठ, वीरगञ्ज । वीरगञ्जमा कोरोना परीक्षण गर्ने पीसीआर किट र भीटीएम (स्वाब राख्ने भाँडो) अभाव हुँदा स्वाब संकलन प्रभावित बनेको छ ।

एक साताभित्र पर्सामा मात्रै ६५ जना कोरोना संक्रमित भेटिए पनि किट र भीटीएम अभावका कारण उनीहरुको कन्ट्याक ट्रेसिङ प्रभावित भएको जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वरप्रसाद चौरसियाले अनलाइनखबरलाई जानकारी दिए ।

चौरसियाले भने, ‘अझै २५० जना भन्दा बढीको स्वाब लिन बाँकी छ । किट र भीटीएम प्राप्त हुने बित्तिकै स्वाब संकलनको कार्य अघि बढाउनेछौं ।’

क्वारेन्टाइनमा रहेका ४५२ जनाको पनि किट अभावका कारण स्वाब संकलन बाँकी रहेको चौरसियाले बताए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सोमबार साँझ एक हजार थान किट र भीटीएम आएको बताए । ‘भोलिदेखि स्वाब संकलनको कार्यलाई तीब्रता दिन्छौं’ उनले भने ।

पर्साका लागि ५ हजार थान किट र भीटीएम माग गरिएको बस्नेतले जानकारी दिए । ‘आइसोलेसन कक्षमा उपचाररत बिरामीको स्वाब संकलनका समय भइसकेकोले त्यसको लागि भने किट र भीटीएम अस्पतालमा स्टक राखेका छौं ।’

वीरगञ्जस्थित नारायणी अस्पतालमा ७१ जना र सिद्धार्थ माविको आइसोलेसनमा २५ जना गरी ९६ जना कोरोना संक्रमित पर्सामा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment