Comments Add Comment

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु : एनआरएनए

११ जेठ, लण्डन । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो तथ्यांक शनिबार (२३ मे २०२०) साँझसम्मको हो ।

एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । तथ्यांकअनुसार यो साता युएईमा ९, साउदी अरबमा ५, युकेमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो ।

एनआरएनएको स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १८ जना नेपालीले ज्यान गुमाएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । साउदी अरबमा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ ।

स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन ।

संयोजक डा.सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको सापकोटाले जानकारी दिए ।

अत्याधिक कोरोना प्रभावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर कम हुँदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसबिरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ । संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरि विश्वव्यापी रुपमा आफ्नो संजाललाई कोरोना पिडितको लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment