Comments Add Comment

कर्णालीमा १०६० वटा आइसोलेसन बेड निर्माण गरिँदै

दुईवटा पीसीआर मेसिन थप्ने

१९ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका २४ स्थानमा १०६० वटा आइसोलेसन बेड निर्माण गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका विभिन्न स्थानीय तहमा १०६० आइसोलेसन बेड निर्माण गर्ने र ६ हजार पीसीआर परीक्षण किट खरिद गर्ने निर्णय गरेको सामाजिक विकाममन्त्री दल रावलले बताए ।

सरकारले पहिलो चरणमा कोभिड–१९ को संक्रमण फैलिएका स्थानीय तहमा प्राथामिकताका साथ आइसोलेसन बेड निर्माण गर्न थालेको मन्त्री रावलले जानकारी दिए ।

सल्यानको कुपिण्डे बनगाडमा रहेको देवस्थल स्वास्थ्य चौकीमा १०० बेड, बागचौर स्वास्थ्य चौकीमा ५० बेड, पुर्कोटका धनबाडा स्वास्थ्य चौकीमा ५० बेड, जाजरकोटको छेडागाड नगरपालिकामा रहेको दशेरा स्वास्थ्य चौकीमा ५० बेड, नलगाड नगरपालिकाको दल्ली प्राथामिक स्वास्थ्य केन्द्रमा ५० बेड, रुकुम पश्चिमको आठबीसकोट स्वास्थ्य चौकीमा ५० आइसोलेसन बेड निर्माण गर्न गर्न लागिएको हो ।

त्यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिकमा रहको सालकोट स्वास्थ्य चौकीमा ५० बेड, चौकुने गाउँपालिकामा ३० बेड, गुर्भाकोट नगरपालिकामा रहेको मेहेलकुना अस्पतालमा ५० बेड, चिङ्गाड गाउँपालिकाको अवलचिङ स्वास्थ्य केन्द्रमा ५० बेड, वीरेन्द्रनगर नगरपालिमा रहेको मध्यपश्चिम विश्वविद्यालय भवनमा ५० बेडको आइसोलेसन सञ्चालन गरिने छ ।

कर्णालीमा सबैभन्दा बढी संक्रमण फैलिएको दैलेखमा नारायाण नगरपालिकाको नारायण क्याम्पसको भवनमा ५० बेड, ठाँटीकाँध गाउँपालिकाको लकान्द्रा स्वास्थ्य केन्द्रमा ५० बेड, आठबीसकोट नगरपालिकाको राकम स्वास्थ्य चौकीमा ५० बेड, दुल्लु नगरपालिकाको दुल्लु अस्पतालमा ५० बेड सञ्चाल गरिने भएको छ ।

साथै कालीकोट पचालझरनाको राम्राकोट स्वास्थ्य चौकीमा ५० बेड, नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ स्वास्थ्य केन्द्रमा ५० बेड, तिलागुफा नगरपालिकाको जुबिथा स्वास्थ्य चौकीमा ५० बेड, रास्कोट नगरपालिकामा ५० बेडका साथै जुम्लाको तातोपानी र सिँजा गाउँपालिकामा ५०/५० वटा आइसोलेसन बेड निर्माण गर्न लागिएको मन्त्री रावलले जानकारी दिए । मंगलबारदेखि नै उक्त आइसोलेसन बेड निर्माण कार्य सुरु हुने मन्त्री रावलको भनाइ छ ।

अर्को पीसीआर मेसिन खरिद गरिने

कर्णालीमा कोभिडा–१९ को संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले थप दुईवटा पीसीआर परीक्षण मेसिन खरिद गने निर्णय गरेको छ । प्रदेश अस्पताल सुर्खेत र दैलेख जिल्ला अस्पतालका लागि मेसिन खरिद गर्न लागिएको हो ।

कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरी हाल तीनवटा पीसीआर परीक्षण मेसिन रहेका छन ।

मन्त्री रावलका अनुसार हाल प्रदेश अस्पतालमा रहेको मेसिन संघीय सरकारले दिएको हो । उक्त मेसिन बिग्रिएपछि सम्बन्धित कम्पनीलाई फिर्ता पठाउन थालिएको छ ।

लकडाउनमा एक लाख ६९ हजार नागरिक कर्णाली भित्रिए

सोमबार प्रदेश सभामा बोल्दै मन्त्री रावलले लकडाउनको अवधिभर कर्णालीमा एक लाख ६९ हजार ८५० जना नागरिक नेपाल भित्र, भारत र अन्य तेस्रो मुलुकबाट कर्णालीमा भित्रिएको बताएका छन् ।

उनीहरुलाई हेल्थ डेक्समार्फत सामान्य परीक्षण मात्रै गरिएको थियो । मन्त्री रावलका अनुसार कर्णालीमा २९ हजार १३९ जना क्षमता रहेकोमा हालसम्म २२ हजार ४८२ जना क्वारेन्टिनमा रहेको छन् ।

प्रदेशमा ५५० वटा आइसोलेसन बेड, ४४ वटा आईसीयू र १७ भेन्टिलेटर रहेका छन् । प्रदेशभर ३३ सय ७७ जना स्वास्थ्यकर्मी खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment