+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सयभन्दा कम संक्रमण भएका जिल्लामा यसरी खुल्दैछ लकडाउन

भदौसम्मको लकडाउन मोडालिटी : आइतबारदेखि कुन–कुन क्षेत्र खुल्छन् ?

मात्रिका पौडेल मात्रिका पौडेल
२०७७ जेठ २३ गते २२:१२

२३ जेठ, काठमाडौं । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।

जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ ।

उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले शुक्रबार केही मन्त्रीहरुसँग लकडाउनको अहिलेको अवस्था परिवर्तन गर्नेबारे अनौपचारिक छलफल गरेका छन् । सो छलफलमा असार १ गतेपछि कसरी जनजीवन सामान्य बनाउने भन्नेबारे प्रस्तावित योजनामाथि परामर्श भएको छ ।

सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । तर, यसबीचमा प्रधानमन्त्रीले आयोजना गरेको विज्ञहरुको छलफलमा लकडाउनको अहिलेको तरिका परिवर्तन गर्न सुझाव आएको थियो । सो सुझावअनुसार शनिवारसम्म प्रस्ताव तयार गर्न समितिलाई मन्त्रिपरिषदले जिम्मा दिएको छ ।

सरकारको नीतिअनुसार नै अहिले उत्पादनमूलक उद्योग व्यवसायहरु, बैंक तथा वित्तिय संस्था, सबै प्रकारका कृषि व्यवसायहरु र सबै प्रकारका ढुवानी साधनहरु निर्वाध रुपमा चलिरहेको उच्चस्तरीय समन्वय समितिले जनाएको छ । दैनिक उपभोग्य वस्तुका पसल व्यवसाय कहिल्यै पनि बन्द नभएको समितिको भनाइ छ ।

अहिले केही व्यवसायीले लकडाउन अवज्ञा गर्दै पसलहरु खोल्न आह्वान गरे पनि अधिकांश त्यस्ता पसलहरु नियमित खुलिरहेको समितिका एक सदस्यले बताए । सरकारविरोधी कतिपय शक्तिले लकडाउन उल्लंघन गर्न उक्साए पनि सरकार उत्तेजित नभएको समितिमा रहेका मन्त्रीहरु बताउँछन् ।

एक मन्त्रीले भने, ‘दैनिक उपभोग्य सामग्रीहरु, डिपार्टमेन्ट स्टोर र खाद्यान्न तथा कृषि स्टेनशनरी र औषधी जस्ता सामान विक्री गर्ने पसलहरु सधै खुलिरहेकै हुन् । केही व्यवसायीले उक्साहटमा आएर अरु बजार खोले पनि सरकार जबर्जस्ती बन्द गराउँदैन, सर्वसाधारण आफैं सचेत भएर त्यस्ता ठाउँमा जानु हुँदैन ।

जेठ २५ देखि भदौ मसान्तसम्मको कार्ययोजना

सरकारले जेठ २५ गतेदेखि व्यक्ति व्यक्तिबीच कम्तिमा १ मिटरको भौतिक दूरी राख्ने र आवश्यक प्रोटोकल पालना गर्ने गरी उपभोग्य वस्तु बाहेकका अन्य पसलहरु पनि खोल्ने गरी लकडाउनको तरिका बदल्ने गृहकार्य गरेको छ । सम्भवतः ढिलोमा आइतबार बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ ।

जेठ २५ गतेपछि दैनिक उपभोग्य सामाग्री बाहेक अन्य सामग्री विक्री हुने पसल तथा डिमार्टमेन्ट स्टोरहरु पनि मापदण्ड अनुसार सञ्चालन हुन दिने गरी प्रस्ताव तयार भएको छ । त्यसमा कपाल काट्ने सैलुन, हाल बन्द भएका अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु पनि पर्नेछन् ।

यसका साथै एउटा जिल्लाबाट अर्को जिल्ला नकट्ने सवारी साधन र कार्यालयको परिचपत्रका आधारमा कामसँग सम्बन्धित सवारी साधनहरु पनि चल्न दिने प्रस्ताव गरिएको छ ।

सीसीएमसीले असार १ गतेदेखि सञ्चालन हुने क्षेत्र भनेर ६ वटा व्यवसायलाई खुला गर्ने प्रस्ताव राखेको छ । जसमा सबै प्रकारका उद्योग व्यवसाय, आन्तरिक हवाई सेवा, धार्मिकस्थलहरु, लामो दूरीका यात्रुवाहक सवारी साधानहरु, मदिराजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु र सपिङ मलहरु छन् ।

यीमध्ये आन्तरिक हवाई सेवामा यात्रु क्षमताको आधा संख्यामा मात्र यात्रु राख्नुपर्ने भनिएको छ । त्यस्तै लामो दूरीका सवारी साधानमा पनि आधा क्षमताका मात्र यात्रु राख्न प्रस्ता गरिएको छ भने मदिरा पसलहरु निश्चित समय तोकेर खोल्न दिने भनिएको छ ।

असार १७ गतेपछि लकडाउन थप खोल्न प्रस्ताव गरिएको छ । त्यसपछि अन्तर्राष्ट्रिय हवाई उडान, कम्तिमा एक मिटरको दूरी कायम गर्ने गरि खुल्ला खेलस्थलहरु पनि खोल्न सिफारिस गरिएको छ । त्यस्तै सबै प्रकारका शिक्षण संस्थाहरु असार १७ पछि ठाउँ हेरेर खोल्न सकिने सिफारिस छ ।

रेष्टुरेन्ट तथा खाजा पसलहरुहरु पनि असार १७ पछि मात्र खोल्न सकिने सिसिएमसीको सिफारिस छ । त्यसो गर्दा एक मिटरको भौतिक दूरी कायम गर्ने र साँझ ७ बजेसम्म मात्र खोल्न दिने भनिएको छ ।

तर, सभा समारोह, उत्सव, भोज भतेर जस्ता जमघट भदौ मसान्तसम्म सन्चालन नगर्ने सिफारिस छ । त्यस्तै एकैपटक २५ जनाभन्दा बढी भेला हुने कुनै पनि क्रियाकलाप नगर्ने र सिनेमा हल, नाटक तथा नाचघर र फिटनेस सेन्टरहरु पनि भदौ मसान्त अघि खोल्न नहुने सिफारिस गरिएको छ ।

उच्चस्तरीय समन्वय समितिमा परामर्शका क्रममा रहेको यो प्रस्तावमाथि विज्ञहरुसहित थप छलफलपछि मन्त्रिरिषदमा लगिने छ । मन्त्रिपरिषदले कतिपय क्षेत्रहरुका बारेमा हेरफेर गरी संक्रमण फैलावटको अवस्था हेरेर विभिन्न जिल्ला तथा क्षेत्रमा लकडाउन खुकुल्याउने र कडा पार्ने निर्णय लिने एक मन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?