Comments Add Comment

टीभीमा फिल्म रिलिजका लागि लोभिँदै निर्माता, लगानी सुरक्षितका अन्य विकल्प के ?

डिस होममा ‘छक्का पन्जा ३’को ग्रस व्यापार ५५ लाख

बलिउडमा सामान्य बजेटमा बनेका चलचित्रका निर्माताले हल खुल्ने प्रतीक्षा गर्न छाडेका छन् । उनीहरू अहिले धमाधम डिजिटल प्लेटफर्मबाट चलचित्र रिलिज गर्न थालेका छन् । अधिकांश निर्माताले डिजिटल माध्यमबाट राम्रो रकम पाएपछि यो विकल्प खोजेका हुन् । यसले निर्मातालाई चलचित्र रिलिजका लागि कुर्नुपर्ने, सेयर बाँडफाँट गर्नुपर्ने दबाबबाट मुक्त बनाइदिएको छ ।

बलिउडमा डिजिटल माध्यमको खोजी भइरहेको समयमा नेपाली चलचित्रका निर्माताहरू हल खुल्ने दिनको प्रतीक्षामा छन् । तर लकडाउनको समयमा हलको विकल्पमा केही माध्यमहरू देखिन थालेका छन् । जसले निर्मातालाई राहत दिन सक्छन् ।

टीभीमा बढ्दैछ दर्शकको आकर्षण
ओर्जिनल इन्टरटेन्मेन्टले विगत २ वर्षदेखि डिसहोममा चलचित्र प्रदर्शन गरिरहेको छ । लकडाउनमा यसको माग ह्वात्तै बढेको यसका प्रमुख दयाराम पाण्डे बताउँछन् । दयारामले अनलाइनखबरसँग भने–‘लकडाउन भएको कारणले पनि हुन सक्छ, अहिले टीभीमै चलचित्र हेर्ने दर्शकको संख्या बढेको छ । जसले गर्दा करिब एक करोडसम्म लगानीमा बनेका चलचित्रका निर्माताले टीभीबाटै लगानी उठाउने सम्भावना बढेको छ ।

दयारामले भने–‘निर्माताले एउटा चलचित्र देखाउँदा ६८ प्रतिशत सेयर पाउँछन् । यसले उनीहरूको लगानीलाई केही हदसम्म सुरक्षित हुने बाटो खोलिदिएको छ । अर्कोतिर चलचित्रको राइट्स बिक्री गर्दा ९९ वर्षका लागि एउटै कम्पनीलाई सुम्पने निर्माताको सोचमा पनि परिवर्तन आएको छ ।’

दयारामका अनुसार अहिले केही चलचित्र निर्देशकले डिस होमसँग मिलेर कम बजेटमा चलचित्र निर्माण समेत थालेका छन् । उनीहरूले डिस होमबाटै चलचित्र देखाउने गरी निर्माण सुरु गरेका हुन् ।

‘छक्का पन्जा ३’को ग्रस ५५ लाख
डिस होमबाट निर्माता दीपकराज गिरीको टिमले निकै नै लोभलाग्दो रकम बुझेको छ। यो चलचित्रले डिस होममा ५५ लाख ग्रसको व्यापार गरेको थियो । यसैले पनि यो चलचित्रबाट निर्मातालाई ३५ लाखभन्दा बढी रकम फाइदा भएको देखिन्छ। पछिल्लो समय रिलिज भइरहेका ‘आमा, मंगलम्’ लगायतका चलचित्रले पनि राम्रो दर्शक पाइरहेको पाण्डे बताउँछन् ।

हलमा रिलिज नभएका नयाँ चलचित्र ‘कोपिला र हिरो रिटन्स’ले रिलिजका लागि डिस होमको बाटो रोजेका छन् । अन्य, केही नयाँ चलचित्रका निर्माताले पनि सिधै डिस होमबाट चलचित्र रिलिज गर्न चाहेको दयारामले बताए ।

अहिले डिस होमले निर्मातासँग प्रतिशतको आधारमा सेयर बाँडफाँट गरिरहेको छ । पहिले–पहिले केही चलचित्रलाई ‘एमजी’ समेत दिए पनि अहिले चलचित्र धेरै भएकाले कुन रिलिज गर्ने भन्ने तालिका मिलाउन नै धौधौ भएको दयाराम बताउँछन्।

महँगा बजेटका फिल्म हल कुर्दै
डिस होममा बम्पर व्यापार गर्ने चलचित्रले एक करोड ग्रस गर्न सक्ने सम्भावना देखिरहेको समयमा दुई करोडभन्दा बढी लगानीमा बनेका चलचित्रका निर्माता भने हल कुरिरहेका छन् । उनीहरूसँग लगानी उठाउनका लागि हलको व्यापारको विकल्प छैन ।

‘म यस्तो गीत गाउँछु २, प्रेमगीत ३, चपली हाइट ३, लक्का जवान, लप्पन छप्पन २, हिजो आजका कुरा’ लगायत चलचित्रका निर्माताले हल खुल्ने दिनकै प्रतीक्षा गरिरहेका छन् । तर हल खुल्नका लागि अझै केही महिना लाग्ने निश्चित छ । अर्कोतिर खुलेर पनि सहज वातावरण बन्न कति समय लाग्ने हो यकिन छैन ।

हल बाहेक रकम कमाउने आधार के–के ?
चलचित्र राम्रो बनाएर ब्रान्डिङ गर्न सकेको खण्डमा निर्मातासँग अहिले पैसा कमाउने अरू माध्यम पनि देखिन थालेका छन् । हलकै भर पर्नुपर्ने अवस्थाबाट बिस्तारै निर्माताले अरू विकल्प पनि पाउन थालेका छन् ।

डिजिटल राइट्स, डिस होममा प्रदर्शन, ओभरसिज बिक्रीबाट निर्माताले राम्रै रकम कमाउने बाटो खुलेको छ । नायिका ऋचा शर्माले सार्वजनिक गर्न लागेको ‘चलचित्र टीभी’ एपबाट निर्माताले नयाँ विकल्प पाउने अपेक्षा गर्न सकिन्छ । यसैले अब राम्रो चलचित्र बनाएर ब्रान्डिङ गर्न सके निर्माताले घाटाको व्यापार गर्नुपर्ने अवस्था घट्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment