Comments Add Comment

मजदुरको कोरोना बिमा गर्ने सहमति, यातायात चलाउन व्यवसायी राजी

४ साउन, काठमाडौं । यातायात मजदुरहरुको कोरोना बिमा हुने भएको छ । यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्रेड युनियनहरूबीच सोमबार भएको छलफलमा यातायात मजदुरको कोरोना बिमा गर्ने सहमति जुटेको हो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार कोरोना बीमाको आधा रकम सरकारले व्यहार्नेछ भने आधा यातायात व्यवसायीले । कोरोना कारण कुनै मजदुरको मृत्यु भए क्षतिपूर्ति दिन कोष बनाउने विभागले मन्त्रालयमा सिफारिस गर्ने सहमति पनि भएको छ ।

मास्क, पीपीई, ग्लोब्स, स्यानिटाइजरलगायतका सुरक्षा सामग्री यातायात व्यवसायीहरुले दिने छन् । ‘दुई साता काम गर्दा कुनै यातायात मजदुरमा लक्षण देखिए सरकारको मापदण्ड अनुसार परीक्षण गर्ने सहमति भएको छ’ राईले भने ।

नयाँ सहमतिसँगै ७ साउनबाट सार्वजनिक यातायात चलाउन व्यवसायीहरु सहमत भएका छन् । तर उपत्यकाको हकमा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र मात्र चलाउन दिने निर्णय व्यवहारिक नभएको भन्दै व्यवसायीहरुले लामो र मध्यम दुरीका सबै सवारी साधनहरू सञ्चालन गर्न माग गरेका छन् ।

यातायात व्यवस्था विभागका अधिकारीले भने यो प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने र सीसीएमसीले निर्णय गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment