Comments Add Comment

सामूहिक दर खाएको भोलिपल्ट कोरोना पुष्टि, ३० जना क्लोज कन्ट्याक्टमा

७ भदौ, काठमाडौं । कागेश्वरी मनोहरा ७ सयपत्री टोलकी ३० वर्षीया महिला सामान्य ज्वरो र हल्का खोकी लागेपछि भदौ १ गते मूलपानीस्थित स्वास्थ्य केन्द्रमा स्वाब दिएर फर्किइन् । तीजको माहोल चलिरहेको थियो । एक फाइनान्समा काम गर्ने गरेकी उनको आर्थिक अवस्था राम्रै थियो ।

स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकोले स्वाब दिएर आएपछि उनले भदौ ४ गते आफ्नै घरमा धुमधामका साथ तीजको दर खाने कार्यक्रम राखिन् ।

३० भन्दा बढी महिला दर खाने कार्यक्रममा सहभागी भएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का वडाध्यक्ष जीवन थापाले जानकारी दिए ।

कागेश्वरी मनोहरा नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ टिमका संयोजक झमप्रसाद आचार्यका अनुसार ती महिलालाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको रिपोर्टआयो ।

त्यसपछि उनको सम्पर्क खोज्दै जाने क्रममा परिवारका ५ जना पीसीआर परीक्षणको लागि भन्दै मूलपानी स्वास्थ्य केन्द्र पुगेका थिए ।

आचार्यका अनुसार उनको क्लोज कन्ट्याक्टमा झण्डै ३० जना रहेका छन् । उनीहरूलाई सोमबार स्वाब संकलनका लागि बोलाइएको छ ।

कोरोना संक्रमित ८२ जना, खहरे चोकदेखि वीरेन्द्र चोकसम्म सिल

नगरपालिकाकी उपप्रमुख विन्दु पुडासैनीका अनुसार अहिले कागेश्वरी मनोहरा नगरपालिकामा ८२ जना कोरोना संक्रमित भेटिएको छ, १० जना निको भइसकेका छन् ।

उपप्रमुख पुडासैनीका अनुसार आइतबार मात्रै वडा नं ५ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर ९ सिल

एकजना सैलुन सञ्चालकमा कोरोना स‌ं‌क्रमण देखिएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको हुन सक्ने भन्दै नगरपालिकाको वडा नं ९ को केही क्षेत्र सिल गरिएको छ । उपप्रमुख पुडासैनीका अनुसार ९ नं वडामा पर्ने खहरे चोकदेखि वीरेन्द्र चोकसम्म सिल गरिएको हो। वडा नं ९ मा मात्रै ४२ जनामा कोरोना देखिएको पुडासैनीले जानकारी दिइन् ।

कुल ८२ जना कोरोना संक्रमितमध्ये ७५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिसकिएको कन्ट्याक्ट ट्रेसिङ समितिका संयोजक आचार्यले जानकारी दिए । अरूको पनि ट्रभल हिस्ट्री खोज्ने क्रम जारी रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment