Comments Add Comment

रियालिटी शोबाट उदाएका प्रतिभा संगीत आकाशमा चम्किँदै

निशान भट्टराई अहिलेका सर्वाधिक चर्चित र व्यस्त गायक हुन् । उनी संगीत क्षेत्रको मेनस्ट्रिममा आएको भने धेरै भएको छैन । ‘नेपाल आइडल’को पहिलो सिजनमा उपविजेता बनेपछि निशानको प्रगतिको ढोका खुल्यो । पहिलो बनेका बुद्ध लामाभन्दा निशानको चर्चा धेरै भयो र उनले यो चर्चालाई न्याय पनि दिए । नेपाल आइडल सकिनासाथ उनको स्वरमा गीत रेकर्ड गराउन चाहनेहरुको संख्या लामै देखियो । निशानले पनि एकपछि अर्को हिट दिँदै गए ।

पछिल्लो समयको युवा–युवतीहरुको मुखमै झुण्डिएको गीत ‘के माया लाग्छ र’ ले निशानको लोकप्रियतालाई नयाँ उचाई दिएको छ । त्यसो त यो भन्दा अगाडि पनि उनका दर्जनौं गीत हिट भइसकेका छन् । चलचित्रको पाश्र्व गायनमा पनि उनको स्वरलाई निकै रुचाइएको छ ।

निशान मात्र होइन, अहिले सांगीतिक दुनियामा राज गरिरहेका अरु पनि गायक–गायिका छन्, जो रियालिटी शोका उत्पादन हुन् । नेपाली टेलिभिजनमा पछिल्लो समय रियालिटी शोको बाढी आइरहँदा तिनीहरुले थुप्रै प्रतिभा जन्माइरहेका छन् । रियालिटी शोबाट आएका सबै सफल नै हुन्छन् भन्ने चाहिँ छैन । रियालिटी शोमा विजेता बनेकाहरु खासै चल्न नसकेका र टप टेनबाट आउट भएकाहरु चम्किएका उदाहरण छन् ।

यसरी सुरु भयो गायन रियालिटी शो

भारतीय टेलिभिजनमा ‘इन्डियन आइडल’ सुरु भएपछि त्यसले नेपालमा पनि निकै चर्चा पायो । त्यही लोकप्रियता देखेर नेपाली टेलिभिजनमा पनि गायन रियालिटी शोका आवश्यकता महसुस गरियो । र, पहिलोपटक नेपाल टेलिभिजनबाटै यसको सुरुवात भयो ।

२०६५ सालमा पहिलो गायन रियालिटी शोका रुपमा ‘नेपाली तारा’ नेपाल टेलिभिजनबाट प्रशारण भएको थियो । त्यसयता नेपाली ताराका तीन सिजन सम्पन्न भए । त्यसपछि निजी टेलिभिजन च्यानलले अन्तर्राष्ट्रिय फ्रेन्चाइजका रुपमा नेपाल आइडल सुरु गर्यो । यसका पनि तीन सिजन सम्पन्न भइसकेका छन् । नेपाल आइडलका दुई सिजन निकै सफल मानिए । हालै सकिएको तेस्रो सिजनको भने खासै चर्चा भएन ।

नेपाल आइडलपछि ‘दि भ्वाइस अफ नेपाल’ले चर्चा पायो । यसका पनि दुई सिजन सकिएका छन् । त्यसैगरि, सिङ्गिङ स्टार, नेपाल लोक स्टारजस्ता अरु रियालिटी शोहरु पनि नेपाली टेलिभिजनमा प्रशारण भएका छन् । यीमध्ये कतिपय रियालिटी शो केही श्रृङ्खलापछि रोकिए भने केहीले निरन्तरता पाइरहेका छन् ।

दिपक लिम्बुदेखि सज्जा चौंलागाईसम्म

२०६५ सालमा भएको पहिलो ‘नेपाली तारा’को उपाधि दिपक लिम्बुले जिते । ‘नेपाली तारा’ भएपछि उनी नेपाली गायन क्षेत्रमा राम्रैसित चम्किए । उनले धेरै चलचित्रका गीतहरुमा पनि स्वर दिएका छन् ।

दिपकले गाएको ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ’ सर्वाधिक चर्चित छ । यसैगरि, ‘मैले त्यही भएर मन पराको’, ‘मुटु माग्यौं तिमीले मैले बाँच्नु पर्छ’, ‘मार्यौ मार्र्यौ’ ‘मागेर पाउने भए, ढल्क्यो ढल्क्यो,’ उनी फूल जस्ती, आयो तिम्रो याद आयो’ जस्ता दर्जनौ गीतहरु हिट छन् ।

दिपकको स्वर नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक गीतमा खुबै बज्यो । विशेषगरि, महेश खड्का, सुरेश अधिकारी, बसन्त सापकोटा लगायतका संगीतकारले उनको स्वरमा धेरै चलचित्रमा गीत रेकर्ड गराए । अहिले भने उनको माग कम भएको छ ।

पहिलो ‘नेपाली तारा’मा धर्मेन्द्र सेवान दोस्रो र रुपक डोटेल तेस्रो भएका थिए । उनीहरु दुवै संगीत क्षेत्रमा सक्रिय रहे । फस्ट रनरअप धमेन्द्रले आशातित सफलता प्राप्त गर्न सकेनन् । प्रायः पप शैलीका गीत गाउने यी गायकले पाश्र्व गायन या अन्य विधाका गीतमा पनि प्रयास गरे ।

हुन त, धमेन्द्रले नेपाली तारा हुनु अगाडि नै ‘यो अँधेरी रात’ बोलको गीत रेकर्ड गराइसकेका थिए । उनले स्वरमा ‘हेर्दा राम्रो माछापुच्छ्रे, रंगा रंगा, जोरीपारी, धेरै नै, पहाडमा हुर्केकी, एक मिठो मुस्कान, त्यो त्यो रुपले’ लगायतका गीत चर्चामा छन् ।

पहिलो नेपाली ताराबाटै उदाएकी गायिका इन्दिरा जोशी पनि हुन् । इन्दिरा पहिलो सिजनमा चौथो स्थानसम्म पुगेकी थिइन् । तर, यो शोको विजेता नबनेपनि इन्दिराले भने नेपाली सांगीतिक आकाशमा छुट्टै स्थान बनाएकी छिन् । उनी अहिले नेपाल आइडलको निर्णायक पनि हुन् । उनले गाएका ‘चौबन्दी चोली अनि, बेहुली, मोटरसाइकलमा, उध्रेको चोली, माग्ने बनायो, तिमी र म, चिया कफि, ठूली, गल फ्रेन्ड, टुट्यो तारा आकाशमा’ लगायतका दर्जनौ गीत हिट छन् । इन्दिरा चलचित्रदेखि आधुनिक गीतमा हिट छिन् । इन्दिराको स्टेज कार्यक्रममा पनि माग उस्तै छ । उनको ग्ल्यामर शैलीलाई पनि दर्शकले रुचाएका छन् ।

रियालिटी शोबाटै आएका अर्का गायक हुन्, सन्तोष लामा । ‘दोश्रो नेपाली तारा’ बन्न सफल सन्तोष आज पनि सांगीतिक क्षेत्रमा सक्रिय छन् । तर, सन्तोषको क्रेज दिपक लिम्बुको जस्तो बन्न भने सकेन । सन्तोषले नेपाली ताराको विजेता बनेपछि चलचित्र ‘भगवान् सबैको’ मा समावेश ‘के साह्रो चिटिक्क’ बोलको गीतमा स्वर भरेर पाश्र्व गायनको यात्रा प्रारम्भ गरेका थिए । यसपछि, उनले फस्र्ट लभ, भिजा गर्ल, एक दिन एक राता, स्वर लगायतका चलचित्रमा आवाज दिए । उनै, सन्तोषको स्वरमा समावेश ‘कसले सुरुवात गर्यो होला’ सर्वाधिक हिट भयो ।

उनले, निरन्तर एल्बम सार्वजनिक गरिरहेका छन् । तर, आजको दिनमा पनि सन्तोषलाई अपेक्षित सफलता भने मिलेको छैन ।

कुनै समय रेडियो नेपालमा स्वर परिक्षा दिएर गायन यात्रा सुरु गर्नुपर्ने अवस्था थियो । तर, अहिले प्रविधिको विकाससँगै सहज अवस्था छ । गायक–गायिकाहरु अटो ट्यूनका भरमा भाइरल भैरहेका छन् । तर, रियालिटी शोबाट स्वर निखारेर आएका केही स्वरका धनीहरुको क्रेज लोभलाग्दो छ ।

पछिल्लो समय नेपालमा दुइवटा रियालिटी शो चर्चामा छन्, ‘नेपाल आइड र दि भ्वाइस अफ नेपाल’ । यी दुबै शोले थुप्रै प्रतिभाहरुलाई सांगीतिक दुनियाँमा स्थान मात्र दिएका छैनन्, कतिपयले बलियो उपस्थिती पनि जनाइसकेका छन् ।
पहिलो नेपाल आइडलमा फस्ट रनरअप बन्न सफल निशान भट्टराइको क्रेज लोभलाग्दो छ । नेपाली चलचित्रका चर्चित ब्यानरदेखि आधुनिक गीतसंगीतमा उनको स्वरले जादु नै छरेको छ ।

चलचित्र ‘दाल भात तरकारी’मा समावेश ‘भिजिट भिसा’, ‘साङ्लो’ मा समावेश झ्याम्मै आँखा, रातो टिका निधारमा समावेश मेरो माया के हो, छक्का पन्जा ३ मा समावेश पछि उमेर ढल्किन्छ लगायतका गीतहरु सुपरहिट भए । गायक निशान भट्टराई ‘नेपाल आइडल’मा सहभागी हुँदा आफूलाई सांगीतिक दुनियाँमा स्थापित हुन सहज भएको उनको भनाई छ । तर, रियालिटी शोमा पुगेपछि त्यसको टाइटल जित्छु भन्नेमात्र सोच बनाएर अगाडि बढ्न नहुने निशानको तर्क छ । निशानले भने–‘मलाई रियालिटी शोले चाडै दर्शकमाझ स्थापित हुन सहयोग गरेको छ । तर, रियालिटी शो एउटा सिजन हो । यसपछि पनि आफ्नो लगावलाई विर्सन हुँदैन ।’

नेपाल आइडलका विजेता बुद्ध लामाले सांगीतिक दुनियाँमा खासै चमत्कार नगर्दा नेपाल आइडलमै सेकेन्ड रनरअप भएका प्रताप दास भने आधुनिक र पाश्र्व गायनमा सफलता हात पारिरहेका छन् । दोस्रो नेपाल आइडल रवी ओडले पनि अपेक्षित सफलता पाउन सकेका छैनन् ।

नेपाल आइडल सिजन ३ मा सहभागी भएर उत्कृष्ट ८ सम्म पुगेकी गायिका रचना रिमाल यसबाट अगाडि बढ्न सकिनन् । तर, यसले उनको सांगीतिक करिअरमा कुनै असर गरेन ।

नेपाल आइडलबाट बाहिरिएपछि रचनाको माग सांगीतिक क्षेत्रमा निकै बढ्यो । उनी, अहिलेकी व्यस्त गायिका हुन् । लकडाउनपछि उनले दर्जन बढी गीतमा आवाज भरेकी छिन् । दैनिक ३ वटासम्म गीत गाउन भ्याएकी छिन् ।

रचनाको आवाजमा समावेश ‘मिनिरल वाटर’ बोलको गीत अहिले हिट छ । उनका ‘फोटो फिरिममा, रुमाल चिनो, लेकबेसी, जिन्दगीको विसौनीमा, सारा खुशी दिए जस्तै, को सँग बोलाउ’ जस्ता गीत सांगीतिक बजारमा आइसकेका छन् ।

यस्तै, रियालिटी शोबाट नै उदाएकी विद्या तिवारीलाई पनि दर्शकले रुचाएका छन् ।

‘दि भ्वाइस अफ नेपाल’को पहिलो सिजनका विजेता सीडी विजय अधिकारीले भने आफूलाई अझै पनि सांगीतिक दुनियाँमा बलियो तरिकाले स्थापित गर्न सकेका छैनन् । उनी, अहिले पनि सांगीतिक क्षेत्रमा संघर्षरत नै छन् । दि भ्वाइस अफ नेपालकै दोश्रो सिजनमा विजेता राम लिम्बुलाई सांगीतिक क्षेत्रले स्विकार्न अझै बाँकी छ । किनकी, उनी विजेता बनेको केही समयपछि विश्वभर कोरोना संक्रमणका कारण लकडाउन भयो । जसलेगर्दा, रामले आफूलाई रियालिट शोमा प्रमाणित गरेपनि सांगीतिक दुनियाँमा प्रमाणित गर्न बाँकी नै छ ।

हालै सम्पन्न भएको नेपाल आइडलको तेस्रो सिजनमा सज्जा चौंलागाई बिजेता बनेकी छन् । सांगीतिक दुनियाँमा अब उनको परिक्षा हुन बाँकी नै छ ।

रियालिटी शोबाट धेरै प्रतिभाहरु उदाएपनि कमैले मात्र आफूलाई बलियो प्रमाणित गरेका छन् । कोही विजेता बनेर पनि हराएका छन् भने कोही स्वरको परिक्षा दिदै सांगीतिक दुनियाँमा चम्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment