
२८ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) नेदरल्याण्ड्सले संकलन गरी पठाएको २ लाख १८ हजार ५२६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर संघका आईसीसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेका हुन् ।
उपाध्यक्ष लामाले सोही वडाका वडाध्यक्ष प्रताप लामालाई चेक हस्तान्तरण गरेका हुन् । यो रकम सिन्धुपाल्चोक निवासी सीता सापकोटाको पहलमा संकलन गरिएको थियो ।
कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङले पीडितहरुको जीवीकोपार्जनका लागि यो रकम सहयोग गरिएको बताए ।
संघले यसअघि पनि यही ठाउँमा आएर ५ लाख सहयोग गरेको बताउँदै उपाध्यक्ष लामाले उक्त सहयोग तत्काल पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गरे ।
वडाका वडाध्यक्ष प्रताप लामाले नेदरल्याण्ड्सबाट सहयोग रकम संकलन गरी पठाउने सबैलाई धन्यवाद दिए ।
जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरुपमा क्षति पुर्याउँदा १६७ भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् ।
प्रतिक्रिया 4