Comments Add Comment

डिश मिडिया र हिमाल मिडियाबीच टेलिभिजन कार्यक्रम निर्माण र प्रसारण समझदारी

५ असोज, काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड र हिमालमिडिया प्रालिबीच टेलिभिजन कार्यक्रम निर्माण र प्रसारणका लागि समझदारी भएको छ। समझदारी अनुसार हिमालमिडियाले समसामयिक विषयमा उत्पादन गर्ने अडियो-भिजुअल कार्यक्रम डिश मिडिया (डिश होम) बाट प्रशारण हुनेछन्।

समझदारी पत्रमा डिश मिडियाका अध्यक्ष हेमराज ढकाल र हिमालमिडियाका प्रकाशक कनकमणि दीक्षितले हस्ताक्षर गरेका छन्।

डिश मिडियाका अध्यक्ष ढकालले देशभित्रै निर्माण गरिएका कार्यक्रमको प्रसारण बढाउँदै लैजाने नीति अनुरूप हिमालसँग समझदारी गरेको बताए। उनले भने, “समसामयिक विषयहरूमाथिको अनुसन्धान, विश्लेषण र प्रस्तुतिमा हिमालको समाचार कक्षको दक्षताले हामीलाई आकर्षित गरेको हो।”

ढकालले हिमालमिडियाबाट उत्पादित कार्यक्रमहरूमार्फत् देशभित्रको अडियो-भिजुअल कार्यक्रम उत्पादनको प्रवृत्तिमै सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।

हिमालमिडियाका प्रकाशक दीक्षितले लामो समयदेखि प्रिन्ट र अहिले आएर डिजिटलको अनुभव सँगालेको हिमालका लागि अडियो-भिजुअल कार्यक्रम निर्माण चुनौती सँगसँगै अन्तर्राष्ट्रियस्तरको अडियो-भिजुअल कार्यक्रम उत्पादन र प्रसारणमा नेपाली सक्षम छन् भन्ने स्थापित गर्ने अवसर पनि भएको उल्लेख गरे।

“बन्दाबन्दीका कारण हामीले प्रिन्ट प्रकाशन स्थगनको दुःखद निर्णय गरेका थियौं”, दीक्षितले भने, “तर, धेरै अध्ययनबाट डिजिटल र त्यसमा पनि टेलिभिजनको पहुँच बढ्दो देखेपछि हामी पनि अडियो-भिजुअलमा प्रवेश गर्न चाहेका थियौं। जनता र समाजमा उत्कृष्ट टेलिभिजन प्रोग्रामिङको चाहना छ भने डिश होममार्फत् हामीलाई राम्रो प्लेटफर्म मिलेको छ।”

हिमालमिडिया अन्तर्गत हाल हिमालखबर डटकम र नेपाली टाइम्स डटकम समाचार पोर्टल सञ्चालनमा छन्। विगत दुई दशक भन्दा लामो समयदेखि साप्ताहिक हिमाल खबरपत्रिका र नेपाली टाइम्स साप्ताहिक प्रकाशन गर्दै आएको हिमाल मिडियाले कोभिड–१९ को महामारीसँग सम्बन्धित बन्दाबन्दीको क्रममा दुवैको छापाको प्रकाशन स्थगन गरेको हो।

डिश होम, विगत १० वर्षदेखि पेटिभी इण्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाई अग्रणी स्थानमा रहेर नेपालभर आफ्नो गुणस्तरीय सेवा प्रदान गरिरहेको  सफल संस्था हो।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरूका साथै ग्राहकको मनोरञ्जनका लागि विभिन्न एक्सक्लुसिभ च्यानलहरू र घरमै बसेर नयाँ नयाँ चलचित्र हेर्न सकिने पेपरभ्यू जस्ता सेवाहरू डिश होमले प्रदान गरिरहेको छ। हिमालमिडियासँगको सहकार्यबाट आफ्ना ग्राहकहरूले उत्कृष्ट स्वदेशी कार्यक्रमहरू हेर्न पाउने विश्वास आफूले लिएको डिश होमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment