Comments Add Comment

कोरोनामुक्त भएको ट्रम्पको दाबी, निर्वाचन प्रचारमा फर्किने तयारी

२६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफू कोरोना भाइरस (कोभिड–१९) बाट पूर्णरुपमा निको भएको दाबी गरेका छन् । साथै उनले आफूबाट अरुलाई कोरोना संक्रमणको जोखिम नरहेको भन्दै आगामी राष्ट्रपति निर्वाचनको चुनावी प्रचारमा फर्किन तयार रहेको बताएका छन् ।

ट्रम्पले कुनै प्रमाण विना नै आफूमा कोरोनाविरुद्धको एन्टिबडी निर्माण भएको बताएका थिए । तर, सामाजिक सञ्जाल ट्वीटरले भने भ्रमपूर्ण उनले पोस्ट गरेको ट्वीट छोपिदिएको छ । यसअघि ट्रम्पका डाक्टरले पनि अब ट्रम्पबाट संक्रमणको कुनै जोखिम नरहेको बताएका थिए । यद्यपि उनले प्रत्यक्षरुपमा ट्रम्पलाई कोरोनाको परीक्षणमा नेगेटिभ आएको भने उल्लेख गरेका थिएनन् ।

राष्ट्रपति निर्वाचन आउने मिति नजिकिँदै गरेको अवस्थामा ट्रम्प छिटोभन्दा छिटो निर्वाचनको प्रचारमा फर्किन चाहन्छन् । कोरोना संक्रमणको कारण उनी एक साताभन्दा लामो समय निर्वाचनको प्रचारमा फर्किन पाएका छैनन् । कोरोना संक्रमण पुष्टि भएपछि उनी तीन दिन अस्पतालमा बसेका थिए ।

मत सर्वेक्षणमा अहिले ट्रम्पको तुलनामा विपक्षी उम्मेदवार जो बाइडन केही अगाडि देखिएका छन् । यद्यपि केही राज्यमा उनी झिनो अन्तरले मात्र अगाडि भएकाले नोभेम्बर ३ मा हुने निर्वाचन निकै महत्वपूर्ण बन्न सक्ने आकलन गरिएको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment