Comments Add Comment

यो वर्षको उत्कृष्ट करदाता घोषणा ७ मंसिरमा

फाइल तस्वीरः गत वर्ष सबैभन्दा बढी कर तिर्ने सूर्य नेपालका प्रतिनिधि सम्मान पत्र ग्रहण गर्दै ।

२ मंसिर, काठमाडौं । सरकारले यो वर्ष उत्कृष्ट करदाता घोषणा ७ मंसिरमा गर्ने भएको छ । सरकारले १ मंसिरमा कर दिवसको अवसर पारी हरेक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।

सोही अवसर पारी सरकारले अघिल्लो आर्थिक वर्षमा बढी कर तिर्ने विभिन्न विधाका करदातालाई सम्मान गर्दै आएको छ । आन्तरिक राजस्व विभागका निर्देशक अर्जुन ढकालका अनुसार यो वर्ष १ मंसिरमा भाइटिका परेका कारण औपचारिक कार्यक्रम आयोजना गर्न सम्भव भएन ।

विभागले १ मंसिरबाट ७ दिनसम्म कर दिवस विशेष सप्ताह मनाउँदै आएको छ । यसबीचमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ । उक्त सप्ताह समापनको दिन पारेर यो वर्ष ७ मंसिरमा उत्कृष्ट करदाता घोषणाको कार्यक्रम राखिएको उनले जानकारी दिए । यो वर्ष ९ औं राष्ट्रिय कर दिवस मनाईंदै छ ।

‘कर छूट र सुविधाको उपयोग गर्नुहोस्’ 

यसैबीच, आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदकुमार कुँवरले कोरोना भाइरसको संकटका बीच राज्यले दिएका सुविधा उपयोग गर्न करदातालाई आह्वान गरेका छन् ।

९ औं कर दिवसको अवसर पारी शुभकामना सन्देश जारी गर्दै महानिर्देशक कुँवरले महामारीको प्रतिकुल अवस्थामा गत आर्थिक वर्ष २०७६÷७७ मा ३ खर्ब ८४ अर्ब आन्तरिक राजस्व संकलन भएको भन्दै करदातालाई धन्यवाद दिएका छन् ।

यसको उच्च मूल्यांकन गर्दै सरकारबाट आर्थिक ऐन २०७७ मार्फत उपलब्ध गराइएको कर छूट तथा सुविधा÷अवसरको उपयोग गर्न करदातालाई आह्वान गरेका छन् । चालु आर्थिक वर्षका लागि भने सरकारले आन्तरिक राजस्वको लक्ष्य ४ खर्ब ५० अर्ब रुपैयाँ राखेको छ ।

विभागले ८४ वटा कार्यालयबाट करीव ३५ लाख करदातालाई प्रत्यक्ष सेवा दिँदै आएको छ ९ औं कर दिवसले स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रणालीमार्फत विकास, समृद्धि र सुशासनको लक्ष्य हाँसिल गर्ने ध्यय राखेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment