Comments Add Comment

गल्ती कमजोरीको गम्भीर समीक्षा गरौं, समय नलम्ब्याऔं : माधव नेपाल

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले ढिलाढाला गरेर बैठकको समय लम्ब्याउने काम गर्न नहुने बताएका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकका लागि १० दिन समय मागेपछि उनले समय खेर फाल्नेतिर मात्रै लाग्न नहुने बताएका हुन् ।

बुधबारको सचिवालय बैठकमा नेता नेपालले कार्यकर्ता र जनतामा ब्यापक निराशा बढेर गएकाले तत्काल तीनै तहको सरकारको गम्भीर समीक्षा हुनुपर्ने बताए । ‘केन्द्र सरकारका मन्त्रीहरु, प्रदेश सरकार र स्थानीय सरकारको गम्भीर समीक्षा गर्न ढिलाइ भइसकेको छ, हामी समय खेर फाल्नेतिर मात्रै नलागौं’, नेता नेपालको भनाइ उधृत गर्दै बैठक स्रोतले भन्यो ।

तीनै तहको सरकार पार्टी र जनताप्रति उत्तरदायी हुनुपर्ने नेता नेपालको भनाइ छ । ‘सरकार पार्टीसँग जवाफदेही र उत्तरदायी हुनुपर्छ, जनताको भावनालाई सम्मान गर्न सक्नुपर्छ’, नेपालले भने ।

आफ्ना गल्ती, कमजोरी सबैले स्वीकार्नुपर्ने भन्दै उनले बैठकमा भने, ‘जहाँ गल्ती कमजोरी भएको छ, उसले गल्ती स्वीकार्न तयार हुनुपर्छ र सच्याएर अगाडि बढ्नुपर्छ ।’

तर, समस्या समाधानमा उदासीन हुने र समय लम्ब्याउने खेलले नेकपालाई बलियो नबनाउने उनले बताए ।

शुक्रबारको बैठकमा पेश भएका विभिन्न दस्तावेजमाथि भने बुधबारको सचिवालय बैठकमा छलफल भएन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको प्रतिवेदनको जवाफी पत्र लेख्ने समय मागेपछि बैठकमा शुक्रबार पेश भएको दस्तावेजमाथि छलफल नभएर सचिवालय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

यसपछि १० दिन सचिवालय बैठक स्थगित गरिएको छ भने मंसिर १८ मा स्थायी कमिटी बैठक र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गर्दै बैठक सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment