Comments Add Comment

राप्रपा नेता राजेन्द्र लिङ्देन बिरामी, हेलिकप्टरमा काठमाडौं ल्याइँदै

२५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद राजेन्द्र लिङ्देन बिरामी परेका छन् । गृह जिल्ला झापाको बीएण्डसी अस्पतालको आईसीयूमा उपचाररत उनलाई बिहीबार नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइँदैछ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार बिहान बिर्तामोडको विएण्डसी अस्पताल भर्ना भएका लिङ्देनलाई निमोनिया भएको पाइएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि लिङ्देनले तीन दिन बिर्तामोडको कञ्चनजंगा अस्पतालमा उपचार गराएका थिए । त्यसपछि बिहीबार विहान बीएण्डसीमा सारिएको हो । उनलाई हाल अक्सिजन दिएर राखिएको गिरीले बताए ।

बुधबार गरिएको परीक्षणमा उनमा कारोना रिपोर्ट नेगेटिभ आएको छ । तर, सबै लक्षण कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो देखिएकाले बिहीबार पुनः उनको स्वाब लिइएको छ ।

लिङ्देनका स्वकीय सचिव छत्र कडायतले लिङ्देनलाई सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइने अनलाइनखबरलाई बताए । ‘थप उपचारका लागि मेडिसिटी अस्पतालमा ल्याउँदैछौं’, उनले भने ।

झापामा राजतन्त्रको पक्षमा भएको आन्दोलनमा मंसिर २० गते सहभागी भएका लिंदेनलाई मंसिर २२ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment