Comments Add Comment

मन्त्रीबाट राजीनामा दिएका नेता भन्छन् : संसद विघटनलाई साथ दिने सरकार फेर्छौं

१० पुस, काठमाडौं । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीबाट राजीनामा दिएका अरुण नेपालले संसद विघटनलाई साथ दिने प्रदेश सरकार बदल्ने बताएका छन् ।

राजीनामा दिएपछि अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने ‘संसद विघटन गराउने लाइनको सरकार बदलेर कम्युनिष्ट पार्टीको सरकार बन्छ । हामीले त्यो प्रक्रिया शुरु नै गरिसक्यौं’, नेपालले भने ।

शुक्रबार नै बागमती प्रदेशसभाका ४५ सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न मन्त्री भइरहन अनैतिक हुने भएकाले पनि राजीनामा दिएको उनले बताए ।

‘संसद विघटनसँगै हाम्रो पार्टी फुट्यो । हामी संस्थापनतिर उभियौं । तर, यहाँ संस्थापनको विपक्षको सरकार थियो । त्यसैले मन्त्री भएर बसिरहनुभएन’, नेपालले भने । केपी ओलीले प्रतिमागी कदम चालेको र त्यही पक्षको बागमतीमा सरकार भएकाले पनि अविश्वासको प्रस्ताव दर्ता गराएको नेपालले बताए ।

अविश्वासको प्रस्ताव दर्ता गराउनुअघि प्रचण्ड र माधव नेपाल समूहका तीन मन्त्री (अरुण नेपाल, शालिकराम जमरकट्टेल र युवराज दुलाल) ले राजीनामा दिएका थिए ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन भएपछि नेकपा विभाजित भएको छ । नेकपाको विवादको असर प्रदेशहरुमध्ये बागमती प्रदेशमा पहिले देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment