Comments Add Comment

चीनमा सिनोफर्मको कोरोना खोपलाई अनुमति

१६ पुस, काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारी कम्पनी सिनोफर्मले विकास गरेको खोपलाई सार्वजनिकरुपमा प्रयोगको अनुमति दिएको छ । बिहीबार चिनियाँ नियामकहरुले यो खोपलाई अनुमति दिने निर्णय गरेका हुन् ।

चीनको नेशनल मेडिकल प्रडक्ट एड्मिनिस्ट्रेसनल सिनोफर्मको कोरोना खोपलाई सार्वजनिक प्रयोगको लागि अनुमति दिने निर्णय गरेको हो । यसअघि नै यूएईले आफ्नो मुलुकमा यो खोपलाई अनुमति दिइसकेको छ । पाकिस्तानले पनि सिनोफर्मसँग १२ लाख डोज खोप खरिदको सम्झौता गरिसकेको छ ।

बुधबार सिनोफर्मले आफ्नो खोप कोरोना महामारीबाट बच्नका लागि ७९ दशमलव ३४ प्रतिशत प्रभावकारी रहेको बताएको थियो । चीनले केही महिनादेखि अन्तिम चरणको परीक्षणमा रहेका खोपहरुबाट आफ्ना केही नागरिकहरुलाई कोरोना खोप कार्यक्रम अघि बढाउँदै आएको छ । यो कार्यक्रमअन्तर्गत अहिले चीनमा उच्च जोखिममा रहेका र फ्रन्टलाइनमा काम गर्ने मानिसहरुलाई खोप वितरण भइरहेको छ । चीनमा अहिले अन्तिम चरणको परीक्षणमा रहेका पाँचओटा कोरोना खोपहरु विकासको क्रममा छन् ।

चीनले अहिले मुलुकमा अनुमति दिएको कोरोना खोपको विषयमा महत्वपूर्ण जानकारी भने सार्वजनिक गरिएको छैन । सिनोफर्मको खोपको अन्तिम चरणको परीक्षणमा कति मानिसहरु सहभागी थिए र उनीहरुमध्ये कति मानिस संक्रमित भएका थिए भन्ने जस्ता नतिजाहरु सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment