
६ भदौ, नर्वे । युरोपेली मुलुक नर्वेमा पछिल्लो दुई सातामा कोभिड–१९ को खोप लगाएका २९ जनाको मृत्यु भयो । मृत्यु हुनेहरुलाई फाइजर कम्पनीको खोप लगाइएको थियो ।
नर्वेमा गत जनवरी १ देखि कोरोना खोप लगाउन सुरु गरिएको हो । जनवरी १५ सम्म करिब २५ हजार बढीलाई फाइजर कम्पनीको भ्याक्सिन लगाइएको नर्वेजियन इन्स्टिच्युट अफ पब्लिक हेल्थले उल्लेख गरेको छ ।
कोरोना भ्याक्सिनका कारण नागरिकको मृत्यु भएपछि नर्वेजियन मेडिसिन एजेन्सी र नर्वेजियन इन्स्टिच्युट अफ पब्लिक हेल्थले कोरोना भ्याक्सिन सम्बन्धका गाइड लाइनहरु परिवर्तन गरेको छ ।
नर्वेजियन मेडिसिन एजेन्सीका डाइरेक्टर स्टेनर माडसेनले अति कमजोर स्वाथ्य अवस्था भएका, दीर्घरोगी लगायतलाई कोभिड–१९ को भ्याक्सिन नलगाउनका लागि सल्लाह दिएका छन् ।
नर्वेजियन मेडिसिन एजेन्सीले तयार पारेको रिपोर्टका अनुसार ८० वर्ष भन्दा बढी उमेर समूहका नागरिकको मृत्यु भएको र उनीहरुको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर रहेको थियो । मृत्यु हुनेमध्ये धेरैजना हार्ट फेलियर, डिमेन्सिया लगायतका गम्भीर दीर्घरोगबाट ग्रसित थिए ।
नर्वेजियन सञ्चार माध्यम एनआरकेका अनुसार मृत्यु हुनेमा सबै ८० देखि ९० वर्ष माथिका रहेका र उनीहरु नर्सिङ होममा उपचाररत बिरामी रहेको उल्लेख छ ।
कोभिडको भ्याक्सिन लगाइएकालाई पखाला, बान्ता, र श्वासप्रश्वास, खोकीलगायतका समस्या देखिएका छन् । सबैभन्दा सामान्यरूपमा देखाइएका लक्षणहरूमा सामान्य ज्वरो आउने बताइएको छ ।
करिब ५३ लाख जनसंख्या रहेको नर्वेमा ५७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । २ हजारभन्दा बढी अस्पतालमा उपचाररत रहेको नर्वेजियन इस्टिच्युट अफ पब्लिक हेल्थ (एफएचआई) ले जनाएको छ ।
प्रतिक्रिया 4