Comments Add Comment

६० मुलुकमा कोरोना भाइरसको नयाँ प्रकार : डब्ल्यूएचओ

७ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमण पनि बढेको छ । अहिलेसम्म कोरोनाबाट विश्वभर २० लाख मानिसको मृत्यु भइसकेको छ । नयाँ प्रकारको कोरोना फैलिएसँगै अहिले धेरै मुलुकहरु समस्यामा परेका छन् । अहिले धेरै मुलुक कोरोना विरुद्धको खोप धेरै मानिसहरुमा पुगेपछि संक्रमण नियन्त्रणमा आउने आशामा छन् ।

डब्ल्यूएचओका अनुसार बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारजस्तै दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको अर्को प्रकार पनि अहिलेसम्म विश्वका २३ मुलुकमा फैलिसकेको छ । डब्ल्यूएचओका अनुसार पछिल्लो एक सातामा विश्वभर कोरोनाको कारण ९३ हजारको मृत्यु भएको छ । एकैसातामा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यो अवधिमा ४७ लाख मानिसमा कोरोना संक्रमण देखिएको छ ।

बेलायतमा पाइएको कोरोनाको नयाँ प्रकार साधारण प्रकारको तुलनामा ५० देखि ७० प्रतिशतसम्म बढी संक्रामक हुने विशेषज्ञहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment