Comments Add Comment

वीरगञ्जमा चिकित्सकका लागि ‘ई–लाइब्रेरी’ सञ्चालनमा

१२ माघ, वीरगञ्ज । वीरगञ्जबाट पीजी तथा एमडीको तयारी गरिरहेका चिकित्सकहरुले अध्ययनका लागि रुम भाडामा लिनु नपर्ने भएको छ । नेपाल चिकित्सक संघ नारायणी शाखाले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) तथा स्टडी रुम सञ्चालनमा ल्याएपछि उनीहरुले रुम भाडामा लिनु नपर्ने भएको हो ।

शाखा कार्यालय भवनकै माथिल्लो तलामा ई–लाइब्रेरी तथा स्टडी रुम सञ्चालनमा ल्याइएको छ । जुनियर डाक्टरहरुका लागि नेपालमै पहिलोपटक नारायणी शाखाले ई–लाइब्रेरी तथा स्टडी रुम स्थापना गरेको दाबी वीरगञ्जका चिकित्सकहरुले गरेका छन् ।

शाखा अध्यक्ष डा. अरुणकुमार सिंहले चुनावको बेला गरिएको बाचा अनुसार नै ई–लाइब्रेरी स्थापना गरिएको बताए । ‘पीजी, एमडी लगायतको तयारी गर्न चिकित्सकहरूलाई समय र रकम दुईवटै खर्च गर्नुपर्छ,’ उनले भने, ‘ई–लाइब्रेरी तथा स्टडी रुम त्यस्ता चिकित्सकहरुकै सुविधाका लागि स्थापना गरिएको हो । अब समय र पैसा दुवै बचत हुन्छ ।’

२ लाख रुपैयाँको लागतमा ई–लाइब्रेरी तथा स्टडी रुम बनाइएको नेपाल चिकित्सक नारायणी शाखाका सचिव डा. उदयनारायण सिंहले जानकारी दिए । उनले डिजिटल पुस्तकालय र स्टडी रुमलाई अझै सुविधासम्पन्न बनाउँदै लैजाने योजना रहेको बताए ।

‘जुनियर चिकित्सकहरुलाई रुम भाडामा लिएर स्टडी रुममा पढ्नुपर्ने बाध्यताको अन्त्य भएको छ,’ उनले भने, ‘ स्टडी रुममा एसी लगाउने, सम्बन्धित विषयको बुक तथा जर्नलहरुको व्यवस्था गर्दै जान्छौं । आवश्यक अन्य सेवाहरु थप गर्छौ ।’

शाखाका सदस्यले निःशुल्क लाइब्रेरीको सुविधा उपयोग गर्न पाउने तर अन्यले तोकिएको शुल्क तिनुपर्ने संघले जनाएको छ ।

अध्ययनका लागि इ–लाइब्रेरी र स्टडी रुम एकदमै प्रभावकारी हुने नारायणी अस्पतालको आईसीयू विभागमा कार्यरत डाक्टर कृष्ण अधिकारीेले बताए । ‘मासिक २ हजार रुपैयाँ तिरेर तयारी गर्नुपर्ने बाध्यता थियो । ई–लाइब्रेरी तथा स्टडी रुम स्थापनापछि समय र पैसा दुवैको बचत भएको छ ।’

तत्काल १८ जना जति जुनियर डाक्टरहरुले सुविधा उपयोग गर्ने अनुमान संघको छ । नारायणीकै आईसीयूमा कार्यरत डाक्टर राजकुमार सिंहले ई–लाइब्रेरी आफूहरुको अध्ययनका लागि वरदान हुने बताए ।

‘अस्पतालमा ड्युटी गर्नु नै पर्ने हुन्छ, परिवारिक तनावसँगै पढाइलाई अघि बढाउनु पनि पर्छ,’ उनले भने, ‘पुस्ताकालयमा शान्त वातावरणमा बसेर पढ्न पाइन्छ । नजानेको कुरा नेपाल चिकित्सक संघका सिनियर चिकित्सकहरुसँग सोध्न सकिन्छ । पुस्तकालय हाम्रो अध्ययनका लागि वरदान सावित हुने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment