
१३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपाबारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयको स्वागत गरेका छन् ।
ओली समूहनिकट प्रेस संगठन नेपालले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बैठकका नाममा गरिएका कथित निर्णयलाई खारेज गरेको बताएका हुन ।
‘निर्वाचन आयोगको पछिल्लो निर्णयको विषयमा यहाँहरूले रंङ्गीबिरङ्गी प्रतिक्रियाहरू सुन्नु भएको छ,’ महासचिव पौडेलले भने, ‘अनधिकृत रुपमा बैठकका नाममा गरिएका कथित निर्णयहरूलाई गलत ठहर गरिदिएको छ ।’
ओली समूहले नेकपामा १०५६ केन्द्रीय सदस्य थप्ने, विधान संशोधन गर्ने, नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ता तोक्ने लगायतका निर्णय गरेको थियो । आयोगले यि सबै निर्णयलाई अवैध घोषणा गरे लगत्तै पौडेलले त्यसको स्वागत गरेका हुन् ।
‘वास्तवमा पार्टी वैधानिक प्रबन्ध अन्तर्गत चल्छ,’ महासचिव पौडेलले भने, ‘विधान, दल सम्बन्धी कानुन र संविधान अनुसार चल्छ भन्ने निर्वाचन आयोगले स्पष्ट गरिदिएको छ ।’
प्रचण्ड–माधव समूहले पार्टी अध्यक्षबाट ओलीलाई हटाउने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । आयोगले यो निर्णयलाई प्रक्रिया नपुगेको भन्दै वैधता दिएको छैन ।
प्रतिक्रिया 4