Comments Add Comment

संसद विघटन : रिट निवेदकका वकिलको जवाफी बहस आजबाट

२ फागुन, काठमाडौं । संसद विघटनविरुद्ध रिट निवेदन दायर गरेका वकिलहरुले आजबाट जवाफी बहस सुरु गर्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले गत बिहीबार प्रतिरक्षा बहस सकेपछि रिट निवेदक पक्षका वकिलहरुले आजबाट जवाफी बहस गर्न लागेका हुन् ।

उनीहरुले सरकार पक्षबाट बहस गरेकाहरुको जवाफ दिनेछन् । जवाफी बहस सकिएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दायर भएका थिए । ती सबै रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ ।

प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

संवैधानिक इजलासलाई राय दिन गठित एमिकस क्युरीमा सर्वोच्च अदालत बार एसोसिएसनबाट अधिवक्ताद्वय पूर्णमान शाक्य र खगेन्द्रप्रसाद अधिकारी तथा केन्द्रीय नेपाल बार एसोसिएसनबाट वरिष्ठ अधिवक्तात्रय बद्रीबहादुर कार्की, सतीसकृष्ण खरेल र विजयकान्त मैनाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment