
७ फागुन, काठमाडौं । नेपालमा वस्तु आयातको ग्राफ कोरोना भाइरसको महामारी शुरु हुनु भन्दा अगाडि कै अवस्थामा फर्किएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को सातौं महिना (साउन-माघ) बित्दा वस्तु आयात गत आवको यसै अवधिमा भएको आयातकै हाराहारीमा पुगेको हो ।
चालु आवको ७ औं महिनासम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएको थियो ।
गत आवको यो अवधिमा कोरोनाको महामारीले मुलुकको अर्थतन्त्र प्रभावित बनेको थिएन । तर, यो वर्षको प्रारम्भिक तीन महिना कोरोनाबाट अर्थतन्त्र प्रभावित बनेको थियो । तर, वस्तु आयात भने सुरुदेखि नै कमजोर बनेन ।
अन्ततः सातौ महिनामा पुग्दा गत आवको भन्दा पनि बढी वस्तु आयात भएको भन्सार विभागको आँकडाले देखाएको छ ।
१ महिनामा १४२ अर्बको आयात
तथ्यांक अनुसार माघ महिनामा मात्र नेपालले विदेशबाट १ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तथ्यांकअनुसार पुससम्म कुल आयात ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।
कोरोना भाइरसका कारण मुलुकभित्र अर्थतन्त्रका धेरैजसो क्षेत्र प्रभावित बने पनि यसले वैदेशिक व्यापारमध्ये आयातमा भने कुनै प्रभाव नपारेको देखिएको छ । यो अवधिमा निर्यातमा सामान्य वृद्धि देखिएको छ ।
यद्यपी निर्यातको ग्राफमा उत्साह थप्ने वस्तुहरु भने छैनन् । तेस्रो मुलुकबाट कच्च पदार्थ आयात गरी नेपालमा प्याकेजिङ तथा प्रशोधन भई भारत निर्यात गरेकै आधारमा केही वस्तुका कारण निर्यातको ग्राफ माथि देखिएको हो ।
७ महिनामा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ । माघ महिनामा ६ अर्ब हाराहारीको मात्र वस्तु निर्यात भएको छ ।
व्यापार घाटा चुलिँदै
आयातको ग्राफ ओरालो लागेको र निर्यात बढेका कारण छैटौं महिनासम्म व्यापार घाटा समेत सुधारोन्मुख थियो । तर, सातौ महिनामा जाँदा व्यापार घाटा समेत अब माइनसमा जाने अवस्थामा पुगेको छ ।
किनकी यो महिनादेखि आयात उकालो लागेको छ । ७ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार ८ खर्ब ७३ अर्ब ५६ करोड पुगेको छ । कुल वैदेशिक व्यापारको आकार अघिल्लो आवको यसै अवधीको तुलनामा ०.५७ प्रतिशतले सुधार आएको छ ।
तथ्यांकअनुसार ७ महिनाको अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ । यो गत आवको तुलनामा मात्र ०.६६ प्रतिशत कम हो ।
गत आवमा ७ खर्ब ३७ अर्बको व्यापार घाटा थियो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत पुगेको छ । निर्यातको हिस्सा मात्र ८ प्रतिशत छ ।
१ खर्ब माथि पेट्रोलियम पदार्थको आयात
सातौं महिनासम्म आइपुग्दा यो वर्ष नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको छ । यस्तो आयात १ खर्ब भन्दा माथिको मूल्यमा पुगेको छ । तथ्यांक अनुसार यो अवधिसम्म १ खर्ब ४७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
यो अवधिमा निर्माण क्षेत्रमा प्रयोग हुने फलाम तथा स्टीलको आयात ८० अर्ब २४ करोड हाराहारीको भएको छ । ५३ अर्ब २५ करोड रुपैयाँ बराबरको सवारी साधन समेत यसै अवधिमा आयात भएको छ ।
यो अवधिमा ६३ अर्ब २१ करोड रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामानको आयात भएको छ । यसमा मोवाइलको हिस्सा अधिक छ । यो अवधिमा नेपालले तरकारी मात्र २२ अर्ब ३९ करोड रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले यो अवधिमा १ सय ४८ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ ।
यस्तो रहृयो ७ महिनाको वैदेशिक व्यापार
आयात : ८ खर्ब ३ अर्ब ६४ करोड (०.०१ प्रतिशत बढेको)
निर्यात : ६९ अर्ब ९१ करोड (७.६१ प्रतिशत बढेको)
व्यापार घाटा : ७ खर्ब ३३ अर्ब ७२ करोड (०.६६ प्रतिशत घटेको)
कुल वैदेशिक व्यापार : ८ खर्ब ७३ अर्ब ५६ करोड (०.५७ प्रतिशत घटेको)
व्यापारमा आयातको हिस्सा : ९२ प्रतिशत (०.५७ प्रतिशत घटेको)
व्यापारमा निर्यातको हिस्सा : ८ प्रतिशत (७ प्रतिशत बढेको)
भारतबाट मात्र ५ खर्ब ३१ अर्बको आयात
नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । सोहीकारण व्यापार घाटा समेत सोही मुलुकसँग बढी छ । तथ्यांक अनुसार ७ महिनाको अवधिमा नेपालले भारतबाट ५ खर्ब ३१ अर्ब ९५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यसअवधिमा निर्यात भने ४९ अर्ब ९२ करोड बराबरको वस्तु निर्यात भएको छ । यसले भारतसँग व्यापार घाटा ४ खर्ब ८२ अर्ब १ करोड देखिएको छ ।
यस अवधिमा चीनतर्फ मात्र ५५ करोडको सामान निर्यात हुँदा १ खर्ब १६ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चीनसँग १ खर्ब १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ । अमेरिकामा ७ अर्बको सामान निर्यात हुँदा ९ अर्ब ४५ करोड रुपैयाँको मात्र आयात भएको छ ।
प्रतिक्रिया 4