Comments Add Comment

सालझण्डीमा ३८ करोडमा बसपार्क र व्यवसायिक भवन बन्दै

१५ चैत, बुटवल । रुपन्देहीको सालझण्डीमा ३८ करोड रुपैयाँ लागतमा बसपार्क र व्यवसायिक भवन निर्माण कार्य सुरु भएको छ ।

सालझण्डी-ढोरपाटन सडकलाई लक्षित गरी प्रस्थान विन्दु सैनामैना-१० सालझण्डीमा बसपार्क र व्यवसायिक भवन बन्न थालेको हो ।

बसपार्कसहितको व्यवसायिक भवनमा ४६ वटा सुविधासम्पन सटर, दुई शौचालय, प्रतिक्षालय, टिकट काउन्टर, कार तथा बस पार्किड, हरियाली खुल्ला क्षेत्रसमेत निर्माण हुने छन् ।

पूर्व-पश्चिम लोकमार्गमा बन्ने सो बसपार्कमा करिब सय वटा बस पार्किङ गर्न सकिने छ । एक बिगाहा ७ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त बसपार्कको लागत करिब ३२ करोड र व्यवसायिक भवनको लागत ४ करोड ६३ लाख रुपैयाँ रहेको सैनामैना नगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज न्यौपानेले बताए ।

व्यवसायिक भवन एक वर्षभित्र भवन निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ भने बसपार्कका संरचनाहरु सालझण्डी-ढोरपाटन सडक सञ्चालनमा आउनुपूर्व नै सम्पन्न हुने छ ।

भवनको शिलान्यास गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको पहिलो बसपार्क र व्यवसायिक भवनले नगरमा ब्यापार विविधता र स्तरीकरणसँगै रोजगारी र आयआर्जनमा वृद्धि हुने बताए ।

बसपार्क निर्माणले सालझण्डी दक्षिणतर्फ भारतीय सीमावर्ती क्षेत्र कक्रहवा नाकाबाट भारतीय पर्यटकलाई सैनामैना हुँदै ढोरपाटनसम्म आकर्षित गर्न सकिने बताए ।

बसपार्कमा निर्माण हुने व्यवसायिक भवनमा निजी क्षेत्रको लागत सहभागितासमेत रहने कार्कीले बताए ।

सालझण्डी नजिकै प्रदेश सरकारको लगानीमा रिफ्रेस सेन्टर समेत निर्माणाधीन अवस्थामा छ । बसपार्क र व्यवसायिक भवन निर्माणले सालझण्डीलाई व्यवस्थित सहरमा विकास गर्न टेवा पुग्ने सैनामैना-१० का वडाअध्यक्ष लोक नारायण थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment