Comments Add Comment

संविधान दिवस-२०७६ मा घोषित मानपदवी २७ चैतमा प्रदान गरिने

१६ चैत, काठमाडौं । २०७६ सालको संविधान दिवसको दिन घोषित विभूषणहरुमध्ये मानपदवीहरु यही चैत २७ गते प्रदान गरिने भएको छ ।

शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवीहरु प्रदान गर्नेछिन् । अलंकार र पदकहरु भने सम्बन्धित विभागीय प्रमुखहरुले प्रदान गर्नेछन् ।

गृह मन्त्रालयको विभूषण शाखाकी शाखा अधिकृत राधा श्रेष्ठले कोरोना संक्रमणको जोखिमका कारण वितरण हुन नसकेको मानपदवी, अलंकार तथा पदकहरु वितरण आगामी चैत २७ गते हुन लागेको बताइन् । उनले भनिन्, ‘२०७७ वैशाख १ गते सुशोभन समारोह हुनुपर्ने, तर चैत ११ गतेबाट लकडाउन भएको भएर अहिले गर्न लागिएको हो ।’

गृहमन्त्रालयले औपचारिक पोशाक लगाएर सुशोभन समारोहमा सहभागी हुन सम्बन्धित महानुभावहरुलाई सूचित गरेको छ । गृहमन्त्रालयले कालो वा खरानी रंगको कोट, चोलो सारी/लवेदा, सेतो सुरुवाल, कालो भादगाउँले टोपी र छालाको कालो रंगको जुत्ता लगाउन भनेको छ ।

हिमाल, पहाड, तराई मधेसमा लगाइने आ-आफ्नो परम्परा र संस्कृतिअनुसारको जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने नेपाली पोशाक पनि लगाउन सकिने गृहमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तर्फकालाई ट्युनिक, एक्युलेट, ग्याठ बुट लगाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment