Comments Add Comment

वायु प्रदूषणले पारेको असरप्रति मानवअधिकार आयोगको चासो

१९ चैत, काठमाडौँ । गत शुक्रबारदेखि काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा परेको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्‍यक्त गरेको छ ।

बिहीबार आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा परेको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै आयोगले नियमित रुपमा सञ्चार माध्यमको अनुगमन गर्नुका साथै आयोगमा सरोकारवालासँग छलफल गरेको छ । पछिल्लो समयमा नेपालका २७ सय ठाउँमा आगलागी तथा डढेलो लागेको, वायु प्रदूषणका कारण आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या अत्याधिक रुपमा देखिएको सञ्चार अनुगमनबाट पाइएको छ ।

सुख्खा याम, अत्याधिक डढेलो तथा पश्चिमी वायु कमजोर भएका कारण केही दिन यता देखिएको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा अत्यन्तै खराब अवस्थामा रहेकोले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने वातावरण विज्ञहरुले छलफलको क्रममा बताएका छन् । वायु गुणस्तर मापन सूचक (एक्युआइ) अनुसार गत आइतबार काठमाडौँमा मापन गरिएको वायुको गुणस्तर ३ सय भन्दा बढी पुगेको देखिएकोले जेष्ठ नागरिक, बालबालिका, दम, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोगीहरुमा अत्यन्तै जोखिम हुने हुनाले सचेत रहनुपर्ने विज्ञहरुले ध्यानाकर्षण गराएका छन् ।

नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको उल्लेख गरेको छ । वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावली २०५४, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन ऐनलगायत राष्ट्रिय कानूनका साथै नेपाल पक्ष राष्ट्र बनेको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले स्वच्छ वातावरणीय अधिकारको व्यवस्था गरेको छ ।

विज्ञहरुका अनुसार वायु प्रदूषणबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न, हालै देखिएको अत्याधिक डढेलोलाई नियन्त्रण गर्न, घर तथा कृषि कार्यबाट निस्किने फोहोर जलाउने कार्यमा नियन्त्रण गर्न तथा सवारी साधनको प्रयोगलाई सम्भव भएसम्म कम गरी हालै देखिएको वायु प्रदूषणको अवस्थामा तत्काल सुधार ल्याउनुपर्ने देखिन्छ ।

यस्तै वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनकरण गर्दै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ तत्कालीन तथा दीर्घकालीन उपायहरुको अवलम्बन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment