Comments Add Comment

चार वर्षअघि सुनचाँदी व्यवसायीको हत्या गरेको आरोपमा एकजना पक्राउ

५ वैशाख, जनकपुरधाम । सर्लाहीमा चार वर्षअघि सुनचाँदी व्यवसायीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

हरिपुर नगरपालिकामा सुनचाँदी व्यवसाय गर्दै आएका सुनिल साहको २०७४ साल असोज २४ गते राति गोली हानी हत्या गरिएको थियो । उनको हत्यामा संलग्न भएको अभियोगमा लालबन्दी नगरपालिका–२ का सञ्जीव पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार सुनिल आफ्ना पिता नागेन्द्रसँगै पसल बन्द गरेर आफ्नो घर कविलासी नगरपालिका–२ तर्फ जाने क्रममा हरिपुर नगरपालिका–९ पडारी र पिपरियाको बीच बाटोमा सञ्जीव पासवान समेतले सुनिललाई गोली हानी हत्या गरेर सुन चाँदी तथा नगद ७ लाख १९ हजार लुटपाट गरेको अभियोग छ ।

घटनापछि अनुसन्धानको क्रममा पक्राउ परेका जयप्रकाश पासवान र उमेश पासवानलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

सञ्जीवलाई भने इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा पेस गर्दा अदालतले उनलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको प्रहरी प्रवक्ता कुँवरले बताए । अदालतको आदेशपछि सञ्जीवलाई कारागार कार्यालय सिन्धुली पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment