Comments Add Comment

नवलपरासीको रामग्राममा लोपोन्मुख ६८ गिद्ध मृत फेला

८ वैशाख, चितवन । नवलपरासीको रामग्राम नगरपालिकामा लोपोन्मुख ६८ वटा गिद्ध एकैठाँउमा मरेको अवस्थामा फेला परेका छन् ।

रामग्राम नगरपालिका–४, जितपुरमा एक पोखरी नजिकै गिद्धहरु एकैठाँउमा मरेको भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार चार प्रजातिका गिद्ध मरेको भेटिएको हो ।

हिमाली गिद्ध ३१ वटा, डंगर गिद्ध ३४, सानो खैरे गिद्ध र सिनेरस गिद्ध २ वटा गरेर ६८ मरेको प्रमुख लामिछानेले बताए । केही गिद्ध गम्भीर अवस्थामा छन् । उनीहरुको उपचारमा भेटेनरी चिकित्सकहरु परिचालन गरिएको छ । एकैठाउँ यति धेरै गिद्धहरु मरेको अवस्थामा फेला परेपछि थप अनुसन्धान गर्न कोषबाट तीनजना विज्ञ चिकित्सकहरुको टोली त्यहाँ पुगेका छन् ।

डा. अमिर सोडौलासहित टोलीले मरेका गिद्धहरुको परीक्षण गर्ने उनले बताए । घटनाको प्रारम्भिक अनुसन्धान गर्दा स्थानीयले कुकुरलाई विषादी हालेर मारेको र त्यसलाई खाँदा  गिद्धहरु मरेको हुनसक्ने अनुमान गरिएको छ । मरेका केही कुकुर त्यस आसपास भेटिएको छ । स्थानीयका अनुसार मंगलबार दिउँसो सिनो खान आएका गिद्ध अचानक बिरामी परेर धमाधम चउरमा नै मर्न थालेका थिए ।

लोप हुन लागेका गिद्ध जोगाउने भन्दै सरकारी तवरबाट नै प्रयास भइरहेको बेला यतिको ठूलो संख्यामा सामूहिक रुपमा गिद्ध मर्नु दुःखद भएको कोषका प्रमुख लामिछानेले बताए । मरेका अधिकांश गिद्ध जंगलमा नै बस्ने प्राकृतिक गिद्ध हुन् । विश्वमा २३ प्रजाति र नेपाल लगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्ध पाइन्छन् ।

घरपालुवा पशु चौपायालाई दुखाइ कम गर्ने औषधि ‘डाइक्लोफेनेक’ प्रयोग गर्दा ती पशु चौपाया मरेपछि मासु खाँदा गिद्धहरु मर्ने गरेको हुँदा सरकारले यो औषधि बेचबिखनमा रोक लगाएको छ । गिद्ध संरक्षणका लागि सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment