Comments Add Comment

टेस्लाले कमायो कीर्तिमानी मुनाफा, ३ महिनामा १ अर्ब डलर

काठमाडौं । विद्युत्तीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा टेस्लाले पहिलोपटक १ अर्ब डलर मुनाफा कमाएको हो ।

मंगलबार सार्वजनिक भएको टेस्लाको वित्तीय प्रतिवेदन अनुसार यस अवधिमा टेस्लाले ९ अर्ब डलर आम्दानी गरेको छ । यस त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको भन्दा ७५ प्रतिशतले बढी हो ।

तथापि सन् २०२० को अन्तिम त्रैमासिकमा भन्दा आम्दानीमा केही कमी आएको छ । खासगरी दुई महत्वपूर्ण मोडेलका कारहरु मोडेल एस र मोडेल एक्सको उत्पादन बन्द गरेका कारण यस त्रैमासिकमा टेस्लाको आम्दानीमा गत त्रैमासिक भन्दा कमी भएको हो । साथै समग्र अटो उद्योगमा जस्तै टेस्लालाई पनि कम्प्युटर चिप्सको अभावले नकारात्मक असर गर्यो ।

लगानीकर्ताहरुलाई सम्बोधन गर्दै टेस्ला सिइओ एलन मस्कले कम्प्युटर चिपको अभाव टेस्लाका लागि ठूलो समस्या बनेको उल्लेख गर्दै यस अवधिमा कम्पनीले आपूर्ति प्रणालीमा अहिलेसम्मकै ठूलो चुनौतिको सामना गर्नुपरेको बताए ।

पहिलो त्रैमासिकमा टेस्लाले बिटक्वाइनमा भएको लगानीबाट समेत मुनाफा गर्न सफल भएको छ । टेस्लाले बिटक्वाइनमा डेढ अर्ब डलर लगानी गरेकोमा बिटक्वाइन बिक्रिबाट १० करोड १० लाख डलर नाफा कमाएको छ ।

स्मरण रहोस् केही समय अघिसम्म टेस्लाले हरेक त्रैमासिकहरुमा घाटा खाइरहेको हुन्थ्यो र नगद प्रवाहकै समस्या हुने जोखिम थियो । सन् २०१८ को अन्त्यसम्ममा त टेस्लाका कुनैपनि त्रैमासिकहरु मुनाफायुक्त भएनन् ।

त्यस्तै सन् २०१९ को मध्यसम्म पनि टेस्लाले घाटा नै व्यहोरिरहेको थियो । तर सन् २०१९ को तेश्रो त्रैमासिकदेखि टेस्लाको भाग्य चम्किन थाल्यो । कम्पनीको शेयर मूल्यमा १३४९ प्रतिशत सम्मको ऐतिहासिक बढोत्तरीसँगै २०१९ को तेश्रो त्रैमासिकमा टेस्लाले मुनाफा आर्जन गर्न सफल भयो ।

टेस्ला अहिले अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक हो र यसको बजार मूल्य विश्वका सातवटा सबैभन्दा ठूला गाडी निर्माता कम्पनीको संयुक्त मूल्यभन्दा पनि धेरै छ ।

यो वर्ष साढे ७ लाख कार बेच्ने योजना टेस्लाको छ । कम्पनीले हरेक वर्ष ५० प्रतिशतको वृद्धिदर हासिल गर्नुपर्ने टेस्ला सिइओ एलन मस्कले बताउने गरेका छन् ।

टेस्लाले आफ्ना नयाँ कारखानाहरु जर्मनी तथा अमेरिकाको टेक्सासमा निर्माण गरिरहेको छ ।

–सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment