Comments Add Comment

राजीनामा नदिएर एकताका निम्ति अन्तिम अवसर दिएका छौं : माधव नेपाल

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका निम्ति अन्तिम प्रयास गर्न सांसद पदबाट राजीनामा नदिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय पार्टी एकताकै निम्ति भएको उनको दावी छ ।

‘हामीले अहिलेसम्म पनि सम्बन्धविच्छेद गरिसकेका छैनौं’ नेता नेपालले भने, ‘राजीनामा दिएपछि त सम्बन्धविच्छेद भइगयो नि ।’ अझै पनि पार्टी एकताका निम्ति ओलीलाई अवसर दिएको उनले बताए ।

‘एकताका निम्ति यो अन्तिम मौका र अवसर हो’, नेता नेपालले भने । एकताका आधार र शर्तहरु लेखेर अध्यक्ष ओलीसमक्ष पठाइसकेको उनले बताए । ‘मैले लेखेर पत्र पठाएको छु । र आज राजीनामा दिएनौं । यो भनेको एकता जोगाउने अन्तिम अवसर हो’, नेता नेपालले भने ।

तर प्रधानमन्त्रीले विश्वासको मत लिंदा संसदमा अनुपस्थित हुने निर्णय असन्तुष्टि र विरोधका निम्ति भएको उनले बताए । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति प्रतिनिधिसभाको विशेष अधिवेशन अहिले चलिरहेको छ ।

यो बैठक अगाडि नै सामूहिक राजीनामा दिने नेपाल समूहले तयारी गरेको थियो । तर, सोमबार बिहान बसेको सांसदहरुको बैठकले राजीनामा नदिने तर संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment